खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

Posted on: 07 Dec, 2017

मङ्सिर २१, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । 

चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा एकै दिन पालैपालो गरेर पाँचवटा बाख्राखसी चितुवाले मारेको रोइलाको भनाइ छ । 

रोइलासँगै स्थानीय रत्नबहादुर राई र मानबहादुर रोइलाको पनि बाख्राखसी मारेको स्थानीयले बताएका छन् । बाख्राको खोर भत्काएर राईका सातवटा खसीबाख्रा एकै दिन मारेको हो । 

चितुवा जंगलबाट गाउँघरमा आएर साँझ परेपछि ठूलो आवाज गरेर कराउने तथा खोर भत्काएर दैनिक बाख्राखसी मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् । एक्लै हिडेका मानिससँग चितुवाले भेटे आक्रमणको प्रयास गर्ने तथा लखेट्ने गरेको स्थानीयको भनाइ छ । 

स्थानीयका अनुसार टाटेपाटे रङको ठूलो चितुवा गाउँ पसेको बताइएको छ । दुईवटा चितुवा रहेको र सँगै हिँड्ने तथा बिहान घाम झुल्किनासाथ जंगलको बीचमा पर्ने डाँडामा सँगै जुध्दै घाम ताप्न निस्कने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

चितुवाले त्यस क्षेत्रका मृगसमेत सखाप बनाएको स्थानीय बताउँछन् । यसअघि खोटेहाङ गाउँपालिकाको वडा नम्बर—१ लिकुवापोखरीमा पनि चितुवा आतंक भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!