खोटाङमा २६ हजार भन्दा बढी मत बदर

Posted on: 16 Dec, 2017

चिसाङ शेर्पा/पुस १, खोटाङ । खोटाङमा प्रत्यक्ष र समानुपातिक गरी २६ हजार बढी मत बदर भएको पाइएको छ । 

प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचनमा खसेको मतगणनाको नतिजाअनुसार २६ हजार ३ सय ५७ मत बदर भएको पाइएको हो । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ चार हजार ३ सय ५५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

 यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रत्यक्षतर्फ १० हजार ५४६ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृत घिमिरेकाअनुसार प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ ७१ हजार ३ सय ११ र प्रत्यक्षको समानुपातिकतर्फ ७१ हजार २ सय ५४ मत खसेको थियो । 

मतदाता शिक्षा प्रभावकारी नहुँदा निर्वाचनमा अनपेक्षित मात्रामा मत बदर भएको पाइएको सर्वसाधारणहरुको गुनासो छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा परिणाम सोचेभन्दा बढि मत बदर भएको जिल्लास्थित राजनीतिक दलहरुको अनुमान रहेको छ । 

यस्तै, प्रदेशसभा (क)को प्रत्यक्षमा ३६ हजार ५ सय ५४ मत खसेको छ । जसमा ३४ हजार ७ सय ७३ मत सदर, एक हजार ७ सय ८१ बदर मत रहेको छ भने प्रदेशसभा सदस्य  (ख)मा ३४ हजार ६ सय ९८ मत खसेकोमा ३० हजार ८ सय ८२ मत सदर र एक हजार ८ सय १६ मत बदर भएको छ । 

एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा ७१ हजार ३११ मत खसेको थियो । प्रदेशसभा (क) र (ख) मा समानुपातिकतर्फ ७ हजार ८ सय ५९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लामा सबैभन्दा बढी समानुपातिकतर्फ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!