पाँच महिनादेखी जन्तेढुंगा गाउँपालिकाका वडाहरु सचिवबिहीन

Posted on: 19 Jan, 2018

चिसाङ शेर्पा/माघ ५, खोटाङ । पाँच महिनायता जन्तेढुंगा गाउँपालिका वडा सचिवबिहीन बनेको छ । 

चार वडाका सचिवहरु गत असोजबाट सरुवा भई अन्तै गएपछी पालिकाका ६ वटै वडा सचिवबिहीन बनेको हो । गत असोजमा डम्बर्खुशिवालयका लक्ष्मी फुयँल, चिसापानीका ढुण्डीराज दुलाल, दिप्लुङका शम्भु आचार्य र काहुलेका मेघराज आचार्यको सरुवासँगै देविस्थान, वोपुङसहित पालिकाको सबै वडा रित्तो भएको हो ।

वडा कार्यालयमामा सचिव नहुंदा काम चलाउमा कार्यालय सहयोगीले वडाको काम गरीरहेका छन् । सहयोगीले कामकाज गर्दा सेवाग्राहीले सहज र सरलरुपमा सुविधा पाउन नसकेको ब्यापक गुनासो आउन थालेको छ । पालिकाको वडाहरुमा सचिव तथा अन्य कर्मचारी नहुंदा विकास निर्माण लगायत यावत कामहरु गर्न कठिनाई भएको जन्तेढुंगा गाउँपालिका प्रमुख शंकर बहादुर राईले बताउनुभयो । 

हाल पालिकामा कार्यकारी प्रशासकिय अधिकृत यादब भण्डारी, सुब्बा बिदुर आचार्य र लेखाप्रमुख सुवास श्रेष्ठ रहेका छन् । पालिकामा प्रशासकिय अधिकृत एक, लेखाप्रमुख एक, खरीदार दुई र एकजना सिभिल ईन्जिनियरको आवाश्यक रहेको पालिका प्रमुख राईले बताए । 

उता, बराहपोखरी गाउँपालिका ४ फाक्टाङ बाहेक अन्य वडा रित्तो रहेको छ । अन्य पाँच वडामा फाक्टाङका वडा सचिव गौरीनाथ आचार्य र कार्यालय सहयोगीले काम गरीरहेका गाउँपालिका उपप्रमुख गोमा मगरले बताईन् ।  

यस्तै, केपिलासगढी गाउँपालिकाको खार्ताम्छामा वडा सचिव छैन । त्यहाँ वासपानीका सचिव युवाराज कट्वालले हेरीरहेका छन् । दिपु्रङ गाउँपालिकाको डाडागाउँलाई याम्खा र  स–छितापोखरीलाई छितापोखरीका सचिवले हेरीरहेका छन् । खोटेहाङ गाउँपालिकाको दुई वडा पनि खाली रहेको छ । ईन्द्रेणीपोखरीलाई खोटाङबजार र सावाकटहरेलाई वाप्लुखाका वडा सचिवले हेरीरहेका पालिका उपप्रमुख कविता राईले जानकारी दिनुभयो । 

संविधानले अनुगमन र समन्वय गर्ने मात्रै अधिकार दिएको र गाउँपालिका तथा नगरपालिकाले समन्वय गरेमा कर्मचारी समायोजनमा पहल गर्न सकिने जिल्ला समन्वय समितिका संयोजक बबि चाम्लिङले बताउनुभयो । 

स्थानिय सरकार कायमपश्चात कर्मचारीका लागि उहाँहरुले पनि पहल गर्न सक्नुहुन्छ । उनले भने, “केही पालिकाले कर्मचारीका लागि माग गरेका छन् । हामी समन्वय समितीमा भएका मध्येमा कर्मचारी समायोजन गर्नेसम्म तयारीमा छौ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!