खोटाङमा ४ हजार २७८ जनाले एसईई दिने

Posted on: 20 Mar, 2018

चिसाङ शेर्पा/चैत्र ६, खोटाङ | खोटाङमा यसबर्ष ४ हजार २७८ जना विधार्थीले एसईई परिक्षा दिने भएका छन् । जिल्ला शिक्षा कार्यालय दिक्तेलका अनुसार नियमिततर्फ ३ हजार ७२४ र एक्जाम्टेडतर्फ ५५४ जनाले एसईई परिक्षा दिने भएका हुन् । नियमिततर्फ छात्रा १९ सय ९७, छात्र १७ सय २७ र एक्जाम्टेडतर्फ छात्रा ३३४ र छात्र २२० जना विधार्थीले एसईई परिक्षा दिदैछन् । 

विद्यालयमा ७५ प्रतिशतभन्दा कम उपस्थिति भएको तथ्यांकका आधारमा ६९ विद्यार्थीले एसइई परिक्षा दिन नपाउने भएका छन् । कक्षामा नियमित उपस्थित नभएको र पठनपाठनमा संलग्न नरहेको हाजिरी रेकर्डका आधारमा अयोग्य ठहराइएका ६९ विद्यार्थी एसइई परिक्षाबाट बञ्चित भएका हुन् ।

जेठमा फर्म भरेका तर माघ मसान्तसम्ममा राजस्व बुझाउन नआएको विद्यार्थीको संख्यालाई परिक्षामा सहभागीताका लागि अयोग्य मानिएको जिल्ला शिक्षा कार्यालय खोटाङका प्राविधिक सहायक तिर्थ बिश्वकर्माले बताउनुभयो । 

खोटाङमा एसइई परिक्षा दिन नपाउने विद्यार्थी गत वर्षको तुलनामा ३६ ले कमी हो । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा २५ वटा परिक्षाकेन्द्र निर्धारण गरिएको छ । एक्जाम्टेडका लागि सदरमुकाम दिक्तेलस्थित पञ्च मावि र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल केन्द्र राखिएको जिल्ला शिक्षा अधिकारी धन बहादुर श्रेष्ठले बताए ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!