तरुण दल अध्यक्षको हत्यारालाई कारबाहीको माग

Posted on: 12 Sep, 2018

चिसाङ शेर्पा | भदौ २७, खोटाङ | नेपाल तरुण दल खोटाङले रोल्पाको तरुण दलका अध्यक्ष रोहित पुनको हत्यारालाई कारबाहीको माग गर्दै दिक्तेलमा विरोध प्रर्दशन गरेको छ । रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा भदौ २४ गते साँझ गोली हानी हत्या गर्ने हत्यारालाई हदैसम्मको कारबाहीको माग राखेर विरोध गरेको हो ।

नेकपा नेतृत्व सरकारको विरोधमा नाराबाजी सहित कांग्रेसको भातृ संगठन तरुण दलले विपी स्मृती भवन दिक्तेलबाट त्रिवेणीचोक, भवनगैरा हुंदै जिल्ला प्रशासन कार्यालयसम्म विरोध प्रर्दशन गरेको थियो । जिल्ला प्रशासन कार्यालय अगाडी केही वेरको नारावाजीपछि सभामा परिणत भएको सभालाई नेपाल विधार्थी संघका पुर्व अध्यक्ष राजकुमार राई, तरुण दलका उपाध्यक्ष काजीमान राई र तरुण दलका अध्यक्ष भिषण राईले सम्बोधन गरेका थिए ।

रोल्पा नगरपालिकाका तरुण दलका अध्यक्ष पुनको कम्युनिष्ट कार्यकर्ताहरुबाट हत्या गरेको भन्दै तरुण दलले त्यसको निन्दा समेत गरेको छ । सभालाई सम्बोधन गर्दै युवा नेताहरुले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ती दिलाउनु पर्ने र शहीद घोषणा गर्नुपर्ने सरकारसँग माग राखेका छन् । आफूहरुले राखेको माग सरकारले पुरा नगरे अन्य विरोधका कार्यक्रम गर्ने उनीहरुले बताएका छन् ।

रोल्पा नगरपालिका २ सिमलबाङका २९ वर्षीय पुनको हत्यामा संलग्न रोल्पा नगरपालिका १० धबाङका देव वहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


माथिको तश्विरमा: तरुण दलका अध्यक्ष पुनको हत्यारालाई कारवाहीको माग गर्दै दिक्तेलमा निकालिएको विरोध प्रर्दशन 

यस बिषयमा तपाइको प्रतिक्रिया...!