राष्ट्रिय कराते प्रतियोगितामा प्रदेश नं. १ प्रथम, खोटाङले ६ स्वर्ण १ रजत दिलायो

Posted on: 04 Oct, 2018

चिसाङ शेर्पा | असोज १८, खोटाङ | सिराहामा आयोजित गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा एक नम्बर प्रदेश पहिलो भएको छ । गोलबजार नगरपालिकाको आयोजना तथा नेपाल कराते महासंघ शाखा डोजो जम्दहको सहआयोजनामा भएको प्रतियोगितामा १३ स्वर्ण ३ रजत १ कास्य लिएर प्रदेश नम्बर एक पहिलो भएको हो 

बुधबार साँझ सम्पन्न प्रतियोगितामा प्रदेश नम्बर एकलाई खोटाङका खेलाडीले ६ स्वर्ण, १ रजत ल्याएर जिल्लाको शान राखेका छन् । खोटाङको तर्फवाट महिला एकलकातामा रोश्मा राई, महिला समुहकातामा रोश्मा राई, विद्याकला राई, जस्मिना राईले स्वर्ण दिलाएकी थिईन् । पुरुष कुमितेमा सन्तोष राईले ६० केजी र सुजन राईले ७५ केजी तौल समुहमा स्वर्ण पदक दिलाएका हुन् ।

महिला कुमितेमा खोटाङकी विद्याकला राईले ५५ केजी तौल समुह र मिसडोना राईले ६८ केजी प्लसमा स्वर्ण र ६८ केजी माईनस तौल कुमितेमा जस्मिना राईले एक रजत दिलाएकी थिईन् । प्रदेश नम्बर एककै लागि ओखलढुंगाका मिलन राईले ४५ केजी र मोरङका रोमन खड्काले ५० केजी तौल समुहमा स्वर्ण दिलाएका छन् । मोरङका रोजन खड्काले ६७ केजी तौल समुहमा एक रजत र तेह्रथुमका चन्दन चौधरीले एक कास्य दिलाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी खोटाङका विद्याकला राई, उत्कृष्ट पुरुष खेलाडी सन्तोष राई र सोही जिल्लाका मिलन कसजु उत्कृष्ट प्रशिक्षकमा छनौट भएका छन् । उनीहरुले ट्रफी प्रमाणपत्र पाएका छन् । आयोजक टिमका लागि खोटाङका इश्वरधन राईले ७५ केजी प्लसमा १ स्वर्ण पदक दिलाएको थियो ।

प्रतियोगितामा प्रदेश नम्बर तीन २ स्वर्ण, २ रजत ५ कास्य ल्याएर दोश्रो तथा आयोजक टिम १ स्वर्ण ४ रजत ७ कास्य लिएर तेश्रो भएका छन् । विजयी टिम प्रथमले ७५ हजार ५ सय ५५, दोश्रोले ५० हजार ५ सय ५५ र तेश्रोले ३० हजार ५ सय ५५ नगदका साथमा मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । तीन दिवसीय प्रतियोगितामा सात प्रदेशका एक एक टिम र आयोजक टिम गरी ८ टिमको सहभागीता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!