खोटाङका टुहुरा बालबच्चालाई कुवेतबाट ५० हजार सहयोग

Posted on: 20 Nov, 2018

चिसाङ शेर्पा | मंसिर ४ खोटाङ | बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोख्खा शाखा कुवेतले संयुक्तमा ५० हजार सहयोग गरेका हुन् । टुहुरा बालबच्चाहरुको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि सम्पर्क मञ्च र यायोख्खाले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन् । 


कुवेतमा रहेर खोटाङगेहरुका लागि आपतविपत्मा सहयोग गर्दै आएको उक्त दुई संस्थाले संयुक्त रुपमा संकलन गरेको रकम हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईको नाममा नेपाल पठाइदिएर टुहुरा बालबच्चालाई सहयोग गरेका हुन् । दुई संस्थाको प्रतिनिधित्व गरी कुवेतबाट मोहन राईले पठाएको सहयोग रकम सोमबार नगरपालिकाको कार्यालयमा राई परिवारकी जेठी छोरी बुङाटुङ चाम्लीङलाई नगर उपप्रमुख राईले हस्तान्तरण गरेकी छन् । बाबुआमा गुमाएपछि बिचल्नीमा परेका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि संस्थाले सहयोग रकम प्रदान गरेका हुन् । विभिन्न दाताहरुबाट संकलित रकम माछापुच्छे बैंकको शाखा हलेसीमा जेठी छोरी बुङाटुङको नाम खाता खोली जम्मा गरिएको छ । हालसम्म १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!