अपडेट: रमिलाको उद्धार, उपचारका लागि आजै काठमाण्डौ लगिदै

Posted on: 18 Dec, 2018

चिसाङ शेर्पा | पुस ३, खोटाङ | मानसिक सन्तुलन गुमाएकी छितापोखरीकी रमिला तामाङको उद्धार गरिएको छ । विगत लामो समयदेखी मानसिक रोगकी शिकार बनेकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीकी स्थानीय ३३ वर्षीया तामाङलाई उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएकोे थाहा पाएपछि केही समय अगाडी उपचारका लागि धरान लगिए पनि उपचार हुन नसक्दा घरमा ल्याएर गाउँटोल समाज मिलेर बन्धक बनाइएकी पीडितलाई मंगलबार बिहान गाउँपालिकाले उद्धार गरेको छ । चारैतिर जाली र काठको कोठा बनाएर बन्धक बनाएको फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आज गाउँपालिका प्रमुख भुपेन्द्र राईको नेतृत्वमा पत्रकार र प्रहरीको रोहवरमा उद्धारगरी आजै थप उपचारका लागि राजधानी लगिने भएको छ ।


धरानमा उपचारमा लैजाँदा उपचार हुन सकेन रहेछ अनि घरमा नै फर्काएको भन्ने स्थानीयको प्रारम्भिक भनाई छ । गाउँपालिका प्रमुख राईले भने, ‘ गाउँमा उनले खुकुरी बोक्ने, भाडाकुंडा बोकेर हिड्ने, गोरु खोलिदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने र उनकै जीबन जोखिममा हुने भएकाले गाउँले मिलेर बन्धक झै बनाएका रहेछन् ।’ अब भने गाउँपालिकाले उपचारमा सहयोग गर्नेगरी उद्धार गरेका छौ । आजै काठमाण्डौ लादैछौ । उनको श्रीमान भने खेतीकिसान गर्दै आएका छन् । उनको १ छोरी र १ छोरा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!