खोटाङमा बाँदर समाउन सुरु

Posted on: 19 Feb, 2019

चिसाङ शेर्पा | फागुन ७, खोटाङ | खोटाङमा बाँदर समाउ अभियान थालिएको छ । समातेर नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउनेगरी मंगलबारदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन थालिएको हो । 

भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवार सिकारीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिमबाट २५ वटा बाँदर समातेका छन् । लफ्याङकै खर्काको दुई स्थानमा पनि जाल थाप्ने तयारी भइरहेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईले बताउनुभयो । 

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बाँदर समाउन अभियान थालिएको हो । जालमा बाँदर पारेर समातेको हेर्नका लागि स्थानीयको भीड लागेको लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो । किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जाल थापेर समाएर निकुञ्जमा पुर्याउनका लागि नगरपालिकाकै १० लाखको खर्चमा शिकारीलाई भित्र्याइएको हो ।


फोटोः लफ्याङमा बाँदर समाउदै शिकारीहरु । तस्विर: निर्मल राईबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!