खोटाङमा सामुदायिक पार्टी घर निर्माण

Posted on: 12 Mar, 2019

चिसाङ शेर्पा | फागुन २८, खोटाङ | खोटाङको नुनथला गैरीमा सामुदायिक पार्टी घर निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला साविक वडा नं. ८ स्थित गैरीमा तामाङ र शेर्पा समुदायका लागि व्यवस्थित सामुदायिक पार्टी घर निर्माण भईरहेको हो । 


स्थानीय ३३ घरधुरीबाट प्रतिघर हजार रुपैयाँ संकलन र वडाको ४ लाख ५० हजार आर्थिक सहयोगमा करीव दुइ महिना अघिबाट निर्माणाधिन सामुदायिक पार्टी घरको काम समापन चरणमा आइपुगेको छ । फलामे ट्रस प्रयोग गरी निर्माण गरिएको पार्टी घरमा जस्तापाता लगाउन लगायतका काम बाँकी रहेको तामाङ तथा शेर्पा समुदायको सामुदायिक पार्टी घर निर्माण उपभोक्ता समिति अध्यक्ष डिल्लीराम तामाङले बताउनुभयो । बिनियोजन भएको बजेटमध्ये जस्तापाता खरीदमा १ लाख ४८ हजार, काँटीमा ९ हजार, फलामे ट्रस खरीदमा २ लाख ४० हजार र ढुंगा, गिटी बालुवामा २६ हजार ५८० खर्च भइसकेको छ । 

बिनियोजन बजेट र स्थानीयबाट संकलन गरेको रकमले जसोतसो उक्त पार्टी घर निर्माण भए पनि शौचालय, पानी, विधुतका लागि रकम अभाव हुने वडा सदस्य ढकराज शेर्पाले बताए । हामी महिला पुरुष अलग–अलग शौचालय, पानी र बत्तीको व्यवस्थापन गर्ने सोचमा छौ । उनले भने, ‘तर बजेट छैन । सम्बन्धित निकाय तथा अन्यबाट सहयोगको अपेक्षा गरेका छौ ।’ पार्टी घर निर्माणका लागि स्थानीय पेमाछिरी शेर्पा र दोर्ची शेर्पाले दुई रोपनी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

पार्टी घरमा विवाह, घेवा (मृत्युपछिको अन्त्योष्टि), पार्टी, चाडपर्वमा सामुहिक भोज गर्न सकिनेछ । पार्टी घर निर्माण भइ सञ्चालनमा आएपछि स्थानीयलाई आर्थिक भार कम हुने अपेक्षा गरिएको छ । उक्त क्षेत्रमा शेर्पा र तामाङ समुदायको बाहुल्यता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!