आगोले जलेका बालकलाई आर्थिक सहयोग

Posted on: 28 Aug, 2019

भदौ १०, खोटाङ | तीन पटक अगेनामा परेर देव्रे खुट्टाको घुंडा जलेर घाईते भएका बालक सुर्य प्रकाश राईलाई राहत रकम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका पुर्णरुपमा अपांग भएका १२ वर्षीय सुर्यलाई १५ हजार बढी राहत रकम प्रदान गरिएको हो ।

गएको जेठको दोश्रो हप्ता तेश्रो पटक घुंडामा आगोले जलेर घरायसी उपचारका कारण किरा नै परेपछि १ भदौबाट जिल्ला अस्पताल दिक्तेलमा उपचाररत उनलाई सुर्य प्रकाश राई आर्थिक सहयोग समितिको पहलमा एकैदिनमा २२ जनाबाट संकलित १५ हजार ८ सय पाँच रुपैयाँ राहत रकम प्रदान गरिएको आर्थिक संयोजक सविता भुजेलले बताईन् । मंगलबार साँझ अस्पताल परिसरमा एक कार्यक्रम गरी राहत रकम नेकपा खोटाङका सचिव राम प्रसाद दंगाल, खोटाङ कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य लगायतले एकसाथ अग्नि पिडित सुर्यका बुबा कुन्दन राईलाई प्रदान गरे ।

आर्थिक रुपमा अत्यन्तै कमजोर परिवारका सुर्यको उपचार, पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले किरणजीत राईको संयोजकत्वमा १३ सदस्यीय समितिले आजैबाट भदौ २७ गतेसम्म सहयोग रकम संकलन थालेको छ । आर्थिक रुपमा कमजोर परिवार, आफैमा पुर्णरुपमा अपांग सुर्यलाई केही मात्रामा भए पनि सहयोग पु¥याउने हेतुले आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको संयोजक राईले बताए । मानवीय संवेदनासँग जोडिएको यस अभियानमा सवैले ऐक्यबद्धता जनाउन समेत संयोजक राईले आग्रह गरे । बालकको अवस्थामा पनि क्रमिक रुपमा सुधार हुंदै गएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!