प्रदेश सरकारले उपलब्ध गरायो स्वास्थ्य कार्यालयलाई भिटिएम

Posted on: 16 Jul, 2020

साउन १, खोटाङ । प्रदेश नं १ सरकारले जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि ५०० थान भिटिएम उपलब्ध गराएको छ । जिल्लावासीले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने आवाज उठिरहेको समयमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य कार्यालय खोटाङलाई पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न प्रयोग गरिने भिटिएम उपलब्ध गराएको हो ।

खोटाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त भएको भिटिएम जिल्ला स्वास्थ्य कार्यलय खोटाङका ल्याब टेक्नेसियन राजु रावतले बुझ्नुभएको छ । जिल्लामा भिटिएमको अभाव हुँदा पिसीआर परीक्षणको दायरा बढाउन समस्या भएको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेशसभा सदस्य राईले संसद्को शून्य समयमा आवाज उठाउनुभएपछि सामाजिक विकासमन्त्री जीवन घिमिरेको निर्देशनमा जिल्लामा भिटिएम प्राप्त भएको हो ।

सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको भिटिएम जिल्ला स्वास्थ्य कार्यालय खोटाङका ल्याब टेक्नेसियन रावतलाई जिम्मा दिइएको सदस्य राईले बताउनुभयो । “समग्रमा सम्पूर्ण जनतालाई यो कोभिड–१९ बाट सजग रहन तर, अनावश्यक चिन्ता नलिन आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “भोलिका दिनमा यो रोगसँग सम्बन्धित सामग्री आवश्यक परेमा हामी पहल गर्ने छौँ ।”

प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय खोटाङका पधाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायतले चाँडोभन्दा चाँडो स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रदेश सरकारलाई गरेको आग्रहअनुसार भिटिएम पठाइएको सदस्य राईले बताउनुभयो । हालसम्म प्रदेश सरकारबाट जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई दुई हजार ८३५ थान पिपिइ गाउन, २३ थान पिपिइ सेट, ४४ थान आइआर थर्मोमिटर, ४५ हजार ४२ थान सर्जिकल मास्क, ४४ हजार ६०० थान एक्जामिनेसन ग्लोब्स, एक हजार ५० थान क्याप र ८०० थान गगल्स प्राप्त भएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म ११ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । नौँ जना उपचारपछि घर फर्किसकेका छन् भने, दुई जना अझै उपचारको क्रममा कोभिड उपचार केन्द्र विराटनगरमा रहनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!