प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङको राम्रो सुरुवात

Posted on: 19 Feb, 2019

चिसाङ शेर्पा | फागुन ७, बिराटनगर | एक नम्बर प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङले राम्रो सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो दिन १३ जिल्लालाई पछि पार्दै महिला एकलकातातर्फ एक स्वर्ण पदक जितेर राम्रो सुरुवात गरेको हो ।

मोरङ जिल्ला सितोरियो कराते संघ र पुर्वाञ्चल क्षेत्रिय विकास समितिको आयोजनामा बिराटनगरस्थित शहिद रंगशालाको कभर्डहलमा मंगलबारबाट सुरुवात भएको प्रदेश स्तरीय कराते प्रतियोगितामा खोटाङकी रोश्मा राईले स्वर्ण पदक दिलाएकी छन् । यस्तै, मोरङकी स्वस्तिका राईले रजत पदक र ओखलढुंगाकी शर्मिला श्रेष्ठ र इलामकी विमोचना गुरुङले कास्य पदक जितेकी छन् । स्वर्ण पदक दिलाएसँगै अन्य जिल्लालाई पछि राख्दै खोटाङले सुरुवातबाटै आक्रमक तवरमा आफूलाई अब्बल स्थानमा सुरक्षित गरेको छ । 


प्रतियोगितामा जित हासिल गर्ने खेलाडीले प्रदेश नम्बर सातको कञ्चनपुरस्थित महेन्द्रनगरमा हुने आठौं राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । प्रदेश स्तरीय कराते प्रतियोगितामा १४ जिल्लाले सहभागिता जनाएको छ । प्रतियोगिताको प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!