खोटाङको मझुवागढी पुग्न पदमार्ग निर्माण

Posted on: 17 Oct, 2016

कात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । 

जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिक रुपमा तीन आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । 

पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज भएको गढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । 

सदरमुकाम दिक्तेलबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने गढीलाई संरक्षण र विकास गर्न परियोजनाले रु ४० लाख ५० हजार सहयोग गरेको छ । तीन वर्षअघिदेखि निर्माणको काम थालिएको पदमार्ग हालै सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो । 

समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर जङ्गलले घेरिएको सो गढीमा अहिले दैनिक ५०/६० जना आन्तरिक पर्यटक घुम्न र विभिन्न ठाउँको दृष्य अवलोकन गर्न आउने गरेका छन् । 

गढी परिसरमा पर्यटकका लागि वर्षात्को समयमा बस्ने पाल तथा पानीको व्यवस्थासमेत मिलाइएको छ । 

मझुवाको अर्थ माझ भन्ने बुझिन्छ । मझुवा गढीको पश्चिम दिशामा महुरेगढी, हाल नुनथला गाविसमा रहेको छ । त्यस्तै, पूर्वमा चुइचुम्वागढी याम्खा गाविसमा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल राजापानी गाविसमा रहेको छ । 

चारैतिर गढी रहेको मझुवा बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकार बताउँछन् । गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । गढीमा हरेक वैशाखे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!