व्यवस्थित बन्दै विषादीको प्रयोग

Posted on: 01 Sep, 2017

भदौ १६,ललितपुर। नेपालमा विषादीको बिक्री वितरण व्यवस्थित बन्न थालेको छ । 

सूचीकृत विषाधीमात्रै बिक्री गर्ने र अनुमतिपत्र लिएका खुद्रा विक्रेताले बिक्री गर्ने क्रम बढ्दा विषादीको बिक्री व्यवस्थित बन्दै गएको हो । पहिले जुनसुकै पसलमा सहजरुपमा विषादी पाइन्थ्यो । अहिले विषादी जुनसुकै ठाउँमा किन्न नपाइने कृषि विभागअन्तर्गतको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाले जनाएको छ । 

विषादी बिक्री गर्ने खुद्रा विक्रेताको संख्या नेपालमा बढ्दै गएको विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका वरिष्ठ प्राविधिक कृष्ण प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले किराना पसलदेखि जुनसुकै ठाउँमा किनबेच थियो, अहिले त्यो छैन ।” 

जिल्ला कृषि विकास कार्यालयले समेत विषादीसम्बन्धी तथ्यांक राख्न थालेका छन् । किसान र विक्रेता दुवैमा चेतना बढिरहेको प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आगामी दिनमा स्थानीय निकायले नै विषादीको अनुगमनको जिम्मेवारी लिनुपर्छ ।” 

शाखाको तथ्यांकअनुसार विषादीको बिक्री गर्ने विक्रेताको संख्या वर्षेनी बढिरहेको छ । अहिले देशभर चार हजार ४८१ वटा विषादी पसल सञ्चालनमा छन् । आव २०७१/७२ मा ८४६ विषादी पसलका लागि अनुमति लिएका थिए भने ७२६ वटाको नवीकरण भएको थियो । आव २०७२/७३ मा ९३८ वटाले अनुमति पत्र लिएका थिए भने ४६४ को नवीकरण भएको थियो । आव २०७३/७४ मा नवीकरण ७२६ वटाको तथा अनुमति पत्र ८४६ वटाले लिएका थिए । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!