स्थानिया खाद्यान्नबाट बाल आहार बनाउन अनुसन्धान शुरु

Posted on: 07 Sep, 2017

ललितपुर, २२ भदौ । लट्टे, जुनेलो, चिनोकागनो (कोदोको एउटा प्रजाति) लगायतबाट बाल आहार बनाउने अनुसन्धान शुरु भएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाले यसै वर्षबाट अनुसन्धान शुरु गरेको हो । उच्च पहाडी क्षेत्रमा फल्ने यी अन्न स्वास्थ्यका हिसाबले फाइदाजनक हुने महाशाखाका प्रमुख रोमन कार्की बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “खाद्य सुरक्षा र पोषण सुरक्षा दुवैका हिसाबले यी खाद्यान्नबाट बाल आहार बनाउनु उपयुक्त छ ।” महाशाखाले आगामी तीन वर्षमा अध्ययन सक्ने योजना बनाएको छ । यी बालीबाट प्रशोधन गरेर अरु खानेकुरा बनाउँदा किसानलाई बाली लगाउन उत्साह मिल्नेछ । 

उहाँ भन्नुहुन्छ, “पोषणका हिसाबले महत्वपूर्ण भए पनि यी बालीको उत्पादन कम हुँदैछ ।” कोदोमा आइरन र क्याल्सियम अरु बालीमा भन्दा दुई गुणा बढी पाइन्छ । जुनेलो र लट्टेसमेत खाद्य विविधिकरणका हिसाबले महत्वपूर्ण मानिन्छ । कर्णालीका सुख्खा ठाउँमा यी बाली पर्याप्त मात्रामा उत्पादन हुन्छ । 

पहिले त्यहाँ खाद्यान्नमा स्थानीयवासीले यी बाली प्रयोग गर्थे । सबैतिर भात खाने प्रवृत्ति बढ्दा पोषणयुक्त खानेकुराको उत्पादन कम भएको छ । कार्की भन्नुहुन्छ, “यसको अध्ययन गरेर किसानलाई सिकाउँदा किसान र बालबालिका दुवैलाई फाइदा पुग्छ ।” महाशाखा यसअघि फापर र कोदोको पिठोबाट बिस्कुट, केकलगायतका खानेकुरा बनाउन सफल भइसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!