तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै

Posted on: 15 Aug, 2016

साउन ३१, ललितपुर । पछिल्लो समय तरकारी खेतीप्रति युवा आकर्षण बढ्दै गएको छ । 

तरकारी खेतीबाट उनीहरुले आफ्नो दैनिकी जीविकोपार्जन राम्रोसँग गर्दै आएको पाइएको छ । यसबाहेक परिवारको हेरचाह एवम् आर्थिक अवस्था पनि मजबुत देखिएको छ । 

खेतीबाट आएको आम्दानीले आफ्नो बालबच्चालाई बोर्डिङ स्कुलमा पढाएर राम्रो शिक्षा दिन पनि उनीहरु सफल भएका छन् । तरकारी खेतीबाटै उनीहरुले समाजमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको पाइएको छ । 

घुसेल गाविस–८ बस्ने गोविन्द गौतमले आफ्नै खेतबारीमा लगाएको तरकारी खेतीबाट आफ्नो छ जनाको परिवार धान्दै आएका छन् । तरकारी खेतीका लागि पाँच रोपनी जग्गा छुट्याएको उहाँले बताउनुभयो । उक्त पाँच रोपनी जग्गामा गोलभेँडा, बन्दा, भन्टा, काउली, भुइँस्याउ, किबीलगायतका तरकारी एवम् फलफूल लगाएको उहाँको भनाइ छ । अहिलेको मौसममा गोलभेँडा प्रतिकिलो रु ५० का दरले बिक्री गर्दै आएको उहाँले बताउनुभयो । 

आफूले खेती गरेको जमिनबाट बर्सेनि बन्दा तथा काउलीबाट समेत राम्रो आम्दानी गर्दै यसबाहेक भुइँस्याउ र किवी पनि लगाइएको उहाँको भनाइ छ । खेतीमा लाग्ने सबै खर्च घटाएर वार्षिक आम्दानी रु एक लाख ५० हजार जोगिने गरेको उहाँको भनाइ रहेको छ । 

यसै गरी बज्रबाराही नगरपालिका–१३ बस्ने शिवराम थापाले तरकारी खेतीबाट आफ्नो सात जनाको परिवारको खर्च टार्दै आएका छन् । खेतीका लागि ११ रोपनी जग्गा भाडामा लिएर काम गरेको उहाँको भनाइ रहेको छ । 

भाडामा लिएको जग्गामा काँक्रो, घिराँैला, काउली, गोलभेँडा, तने बोडीलगायतका मौसमअनुसारको तरकारी खेती गरिँदै आएको र वार्षिक रुपमा सबै खर्च घटाएर रु पाँच लाख आम्दानी गर्दै आएको उहाँले बताउनु भयो । 

तरकारी खेतीबाट आउने आम्दानीबाट छोरालाई इञ्जिनियर र छोरीलाई कृषिविज्ञ बनाउन लागेको उहाँले बताउनुभयो । बज्रबाराही नगरपालिका–१० बस्ने हरिगोपाल महर्जनको पनि यस्तै कथन रहेको छ । यही खेतीबाट सात जनाको परिवारको पालनपोषण गर्दै आएको महर्जनको भनाइ रहेको छ । 

गोलभेँडा खेतीका लागि मात्र १० रोपनी जग्गा भाडामा लिएर काम गर्दै आएको उहाँले बताउनुभयो । वार्षिक सबै खर्च घटाएर रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!