ललितपुरमा विद्युत् खम्बा नसार्दा सडक निर्माण अवरुद्ध

Posted on: 03 Sep, 2017

भदौ १८,ललितपुर। चापागाउँ–खुमलटार सडकखण्डमा बाटो चौडा पार्ने काम नेपाल विद्युत् प्राधिकरणको उदासीनताका कारण अघि बढ्न सकेको छैन । 

प्राधिकरणले खम्बा सार्न ढिलाइ गर्दा निर्माण कार्य अवरुद्ध भएको डिभिजन सडक कार्यालय ललितपुरले जनाएको छ । 

झण्डै चार महिनादेखि काम अघि बढ्न नसकेको इञ्जिनियर आरती साहले बताउनुभयो । पटक पटक पत्राचार गर्दासमेत खम्बा सार्न प्राधिकरणले बेवास्ता गर्दै आएको छ । जिल्लाबाट समन्वय हुन नसकेपछि क्षेत्रीय सडक कार्यालयलाई भनिएको साहले बताउनुभयो । 

चक्रपथसँग जोडिएको सडकमा काम लथालिंग हुँदा यात्रु हैरान छन् । दैनिकजसो स्थानीयवासीले सडक निर्माणमा ढिलाइ भएको भन्दै कार्यालयमा गुनासो गर्ने गरेका छन् । साह भन्नुहुन्छ, “ठेकेदार काम गर्न हतारिएको छ । पोल नसारेकाले मात्रै काम रोकिएको हो । पोल सारेको एक महिनामै काम सकिन्छ ।” 

काठमाडौँ उपत्यका शहरी विकास प्राधिकरणले सडकमा चिह्न लगाएको तीन वर्ष बितिसक्दासमेत काम सकिएको छैन । सातदोबाटोबाट खुमलटारसम्म ९०० मिटर सडकको जिम्मेवारी डिभिजन सडक कार्यालयको हो । खुमलटारदेखि लेलेसम्मको सडकको काम गर्ने जिम्मेवारी सडक विस्तार आयोजनाको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!