ललितपुरको कोञ्जेसोममा ५४ प्रतिशतले तेस्रो किस्ता लिए

Posted on: 21 Jan, 2019

माघ ७, ललितपुर | दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ(आवास) ले जनाएको छ । 

यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले जनाएको छ । एक हजार ६४६ लाभग्राहीले दोस्रो किस्तावापतको रकम र दुई हजार ४१ जना लाभग्राहीले पहिलो किस्ता वापतको रकम यो गाउँपालिकामा लिइसकेका छन् । गाउँमा घर बनाउन शहरी क्षेत्रमा भन्दा कठिनाइ कम हुने एकाइका आयोजना प्रमुख विरबहादुर रावलले बताउनुभयो । 

शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनेको हुँदा भूकम्पपछि पनि त्यतिमा नै घर बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा एकातिर पर्याप्त जमीन हुन्छ भने अर्कातिर मापदण्ड पनि लचिलो हुन्छ । भूकम्पप्रभावित सबै जिल्लामा सरकारबाट अनुदान लिएका घर बनाएका लाभग्राहीको भन्दा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर बनाउँदा चाँडो बनेको छ । 

यो गाउँपालिकामा २४२ घर लुमन्ती संस्थाले बनाएको हो । उहाँले भन्नुभयो, “घर निर्माण सकिएर सबै लाभग्राहीले तेस्रो किस्ता पनि लिइसकेका छन् ।” जिल्लाभरमा भने तेस्रो किस्ता लिने लाभग्राही २३ प्रतिशत मात्रै रहेको छ । गुनासोपछि थप भएका समेत जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ रहेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!