ललितपुरको वाग्मती नगरपालिकाको बजेट रु ४१ करोड

Posted on: 25 Jun, 2019

असार १०, ललितपुर (रासस) | आर्थिक वर्ष २०७६/०७७ का लागि वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँको योजना तथा कार्यक्रमसहित रू ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । 

पाँचौँ गाउँसभामा उपाध्यक्ष रञ्जना धिमिरेले सङ्घीय र प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट जम्मा हुने अनुमानित रु ४१ करोड २ लाख ३८ हजार बजेट प्रस्तुत गर्नुभएको थियो । यसमा अनुमानित पूँजीगत खर्चतर्फ रु ३५ करोड २४ लाख २८ हजार र अनुमानित चालू खर्चतर्फ रु पाँच करोड ७८ लाख रहेको छ । 

जसअनुसार सङ्घीय सरकारको वित्तीय अनुदानबाट रु सात करोड ६ लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड ४४ लाख, प्रदेश वित्तीय समानिकरणबाट रु ८९ लाख प्राप्त हुने बताइएको छ । त्यसैगरी रजिष्ट्रेशन दस्तुरबाट रु ५० लाख, आन्तरिक स्रोत ढुङ्गा, गिटीलगायत बालुवाबाट रु दुई  करोड २६ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने मौज्दात कोषको रकम रु चार करोड अनुमान गरिएको छ । 

त्यस्तै सङ्घीय र प्रदेश सरकारबाट सर्शत प्राप्तहुने रु १८ करोड १५ लाख ३८ हजार तथा आर्थिक वर्ष २०७५/७६ को बाँकी हुन आउने रकम रु ८९ लाख यस आर्थिक वर्षमा जम्मा हुने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष बजेट प्रस्तुत गर्दा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएता पनि अहिले कृषि र पर्यटन दुवैलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले अघिल्लो वर्षको कार्यक्रमअन्तर्गत जनतासँग अध्यक्ष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा विकास निर्माण, कृषि, शिक्षालगायतको क्षेत्रमा कलम चलाउने स्थानीय पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अघि बढाएको छ । 

गाउँपालिकाले उपाध्यक्ष महिला सशक्तीकरण, एकल पुरुष भत्ता, जनजाति उत्थान कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसवर्ष जग्गा खरिद गरेको गाउँपालिकाले आगामी वर्षमा भवन निर्माणलाई बजेट छुट्टाएको छ । पर्यटन विकास कार्यक्रमअन्तर्गत राडर क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउन र गाउँपालिकाले माझखण्ड रुद्रेश्वर महादेव मन्दिर निर्माण गर्न बजेटलाई प्राथमिकतामा राखेको छ । 

विद्यालय शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालय सुधार कार्यक्रम अघि सारेको छ । खेलकूद विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले अध्यक्ष–कप खेलकूद प्रतियोगिता गर्नुका साथै गाउँपालिकाले बाँकी रहेका सडक निर्माण र स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको छ । वाग्मती गाउँपालिकालाई कृषि र पर्यटनको हिसाबले चिनाउने उद्देश्यका साथ यस क्षेत्रलाई प्राथमिकतामा राखी बजेट ल्याइएको सो गाउँ पालिकाका प्रमुख वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!