ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु महर्जन विजयी

Posted on: 24 May, 2017

जेठ १०, ललितपुर | ललितपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली काँग्रेसका उम्मेदबारले विजय हासिल गर्नुभएको छ । 

नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार चिरीबाबु महर्जन २४ हजार ६४२ मतका साथ प्रमुख पदमा विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले जानकारी दिनुभयो । 

महर्जनले उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकारलाई ३२६ मत अन्तरले पछाडि पार्नुभएको छ । प्रमुख पदका उम्मेदवार एमालेका ब्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गर्नुभएको थियो । 

त्यसैगरी, उपप्रमुख पदमा नेपाली काँग्रेसका गीता सत्यालले १९ हजार ८१९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँले निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यलाई पाँच हजार ५७९ मतले पछाडि पार्नुभयो । शाक्यले १४ हजार २४० मत प्राप्त गर्नुभएको छ । महानगरको निर्वाचनमा एमाले र राप्रपाबीच गठबन्धन रहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!