स्मार्ट ल्याबमै विद्यालयको कक्षा

Posted on: 28 Nov, 2016

मंसिर १३, ललितपुर । चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन् । शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन् । विद्यार्थी धमाधम ट्याब हातमा लिएर टाइप गर्न थाल्छन् । नमिलेका कुरा हातले नै मेटाउँछन् । शिक्षक नभएका समयमा समेत विद्यार्थी गुगलमार्फत नजानेका कुरा सिक्छन् । 

मङ्गलबजारस्थित आदर्श कन्या उच्च माध्यमिक विद्यालयमा आगामी चार महिना पछि देखिने दृश्य हो यो । स्यामसुङ कम्पनीले उपत्यकामा चार विद्यालयमा ‘स्मार्ट ल्याब’ बनाइरहेको छ । ललितपुरको एक मात्रै छात्रा विद्यालयका रुपमा रहेको आदर्श कन्या उमावि त्यसमध्ये एक हो । डिजिटल प्रणालीबाट कक्षा सञ्चालन हुने भएपछि शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्साहित भएका छन् । 

कम्पनीले तीन महिना पहिलेदेखि ल्याब बनाउन सुरु गरेको थियो । यही शैक्षिकसत्रको अन्त्यसम्ममा जडानका सबै काम सकिनेछ । आगामी शैक्षिकसत्रदेखि स्मार्ट ल्याबमै कक्षा सुरु हुने प्रधानाध्यापक मोहनप्रसाद सिंहले बताउनुभयो । कम्पनीले ४० वटा ट्याब उपलब्ध गराएकाले एक पटकमा ४० जना विद्यार्थीले ल्याबमा पढ्न सक्छन् । पूर्व–प्राथमिक कक्षाबाट १२ कक्षासम्मका विद्यार्थी पालैपालो ल्याबमा गएर पढ्न सक्छन् । उहाँले भन्नुभयो, “विद्यार्थीका हातमा ट्याब भएपछि उनीहरुले अझै रमाइलो तरिकाले पढ्न सक्छन् ।” 

विद्युत् कटौतीको समयमा समेत ल्याब सञ्चालन होस् भनेर सौर्य किरणबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाइएको छ । यस्ता १५ वटा ब्याट्री कम्पनीले व्यवस्था गर्दैछ । शिक्षकका लागि पहिले तालिम दिने कम्पनीले बताएको छ । उहाँ भन्नुहुन्छ, “यहीँ कार्यरत शिक्षकलाई नै तालिम दिएर आगामी सत्रदेखि कक्षा सुरु गर्न लागिएको हो ।” विद्यालयले झन्डै दुई लाख रुपैयाँ ल्याबका लागि खर्च गरेको उहाँले बताउनुभयो । कम्पनीले सामान सुरक्षित हुने ठाउँ माग गरेको थियो । 

दृश्य माध्यमबाट अध्यापन हुँदा विद्यार्थीले अझै सजिलै बुझ्ने उहाँ बताउनुहुन्छ । अरू सामुदायिक विद्यालयमा जस्तै विद्यार्थी सङ्ख्या न्यून हुँदै गएकामा विद्यार्थी बढाउन स्मार्ट ल्याबले काम गर्नेछ । अहिलेदेखि नै विद्यार्थी उत्साहित भएका छन् । उहाँ भन्नुहुन्छ, “अहिलेदेखि नै विद्यार्थी ट्याबबाट पढ्न पाइन्छ भनेर दङ्ग परेका छन् ।” कम्पनीले भारतबाट नै शिक्षकले विद्यार्थीलाई डिस्प्लेबाट पढाए÷नपढाएको निगरानी गर्नेछ । 

महिलालाई शिक्षा दिन विसं २००४ सालमा यो विद्यालय स्थापना गरिएको थियो । विद्यालयमा अहिले आर्थिक रुपमा विपन्न बालिका पढ्ने गरेका छन् । विद्यालयमा छात्रलाई समेत पढाउन जिल्ला शिक्षा कार्यालयले भने पनि विद्यालयले यसलाई महिला विद्यालयकै रुपमा राख्न चाहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!