भीमसेनको मन्दिर पुनःनिर्माण

Posted on: 15 Sep, 2018

भदौ ३०, ललितपुर | विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फको भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुनःनिर्माण हुने भएको छ । 

विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो । 

भारतीय सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बित्दासमेत काम अघि नबढेकाले स्थानीय व्यापारी र टोल सुधार समिति आफैँले मन्दिर निर्माणमा केही समयदेखि चासो देखाएका उक्त सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताउनुभयो । 

केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो ।स्थानीयवासीले बनाउँदा भारत सरकारलाई आपत्ति नहुने दूतावासको प्रतिक्रिया आएको उहाँले जानकारी दिनुभयो । भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पुर्याउँदा पनि १४÷१५ महिनाअघि पुनःनिर्माण हुनसक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । 

क्षतिग्रस्त मन्दिरका कारण स्थानीयवासी र सवारी साधन चालकले समेत दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । उत्तरी भागमा काठले मन्दिरलाई अड्याइएको छ । सवारी साधन आगमन र यात्रुको आवतजावत धेरै हुने यो सडकमा काठका कारण यात्रु सजिलै हिँड्न नसकेको स्थानीयवासी सतिश महर्जनले बताउनुभयो । साना नानी यही सडक भएर विद्यालय जान्छन् । उहाँले भन्नुभयो, “मन्दिर बनाउन ढिला गर्दा दुर्घटनासमेत हुन सक्छ ।” 

यस बिषयमा तपाइको प्रतिक्रिया...!