ललितपुरको तीन स्थानमा ट्राफिक बत्ती जडान

Posted on: 05 Dec, 2018

मङ्सिर १८, ललितपुर | ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती राखेको हो । 

कुपण्डोलको उकालो बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको बताउनुभयो । महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो कामलाई महानगरले निरन्तरता दिँदै जानेछ ।” 

दिनहुँ बढेको सवारी चाप व्यवस्थापनमा बत्तीले सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको योजना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक बत्ती राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ ।” 

महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पुल्चोकदेखि कुपण्डोलसम्म विभिन्न स्थानमा ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!