‘क्यू ग्रेडिङ’ तालिममा तीन दिनको शुल्क झन्डै रु तीन लाख

Posted on: 20 Jan, 2019

 माघ ६, काठमाण्डौ | ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालीममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिनुभयो ।  

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना गरेको हो । 

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । चिया तथा कफी विकास बोर्डले वार्षिक ८०० मेट्रिक टन कफीको माग भए पनि यहाँ मात्र ५१३ मेट्रिक टन कफी उत्पादन हुने जानकारी दिएको छ । 

नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् आर्थिक वर्ष २०७४-७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार आयात गरिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!