फुटपाथका पसल हटाइए

Posted on: 21 Mar, 2019

चैत ७, ललितपुर | लगनखेलदेखि मङ्गलबजारसम्मका फुटपाथका पसल आजबाट हटाइएका छन् । सडक यात्रा गर्ने यात्रुलगायत पर्यटकलाई आवतजावतमा निकै समस्या परेपछि उक्त पसल हटाइएका हुन् । 

सडकमा करीब १५० बढी व्यापारी व्यापार गरेर बस्ने गर्थे । आकस्मिक घटना परेका समयमा तत्काल एम्बुलेन्स, दमकललगायत पर्यटकको सवारी साधन सहजरूपमा आवतजावत गराउन अप्ठ्यारो परेकाले पसल हटाइएको ललितपुर महानगरपालिकाका मिडिया संयोजक माधवप्रसाद घिमिरले बताउनुभयो । 

“पसल हटाउने निर्णय महानगरपालिका, त्यहाँका टोलवासी र टोलसुधार समितिले सधँैको लागि लिएका छन्”, घिमिरले भन्नुभयो, “ट्राफिक प्रहरीले महानगरपालिकाको निर्णयलाई समन्वय गरी पसल हटाउन सहयोग गरिरहेका छन् ।” 

सार्वजनिक स्थानमा यस्ता पसल नराख्ने तर यात्रा गर्ने सडकमा मात्र राख्ने क्रम बढेसँगै यस्तो निर्णय गर्न बाध्य भएको महानगरपालिमा–१२ का अध्यक्ष नारायणलाल अवालेले जानकारी दिनुभयो । “यात्रा गर्ने मुख्य सडकमा जताततै पसल थाप्नाले दैनिक यात्रा गर्ने यात्रु र पर्यटकको आवागमनमा नकारात्मक असर परेको पाईयो”, अवालेले भन्नुभयो, “मुख्य सडक जताततै सवारी साधन राखिएको पाइएमा त्यसलाई पनि कारवाही गरिने निर्णय गरिएको छ ।” 

उक्त निर्णय हुनुअघि लगनखेलको फुटपाथमा बेलुका दुई घण्टा फुटपाथ व्यापारीलाई व्यापार गर्न दिइएको थियो तर, अबदेखि कुनै पनि समय सडक पेटी र पसल बाहेकका स्थानमा फुटपाथ व्यापारीले पसल राखी व्यापार गर्न नपाउने भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!