बाढीले बेँसीशहर–चामे सडक बगायो, सडक अवरुद्ध

Posted on: 06 Aug, 2020

साउन २२, लमजुङ । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो । 

सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताउनुभयो । त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उहाँका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ । 

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो । सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!