नेपालडाँडा–तार्कुघाट– बोराङखोला सडक धमाधम कालोपत्र हुँदै

Posted on: 31 May, 2021

जनक श्रेष्ठ । जेठ १७, लमजुङ (रासस)। कोरोना सङ्क्रमणको दोस्रो लहर सरकारद्वारा जारी निषेधाज्ञा र सङ्क्रमणको जोखिमका बीच नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक कालोपत्र गर्ने कार्य तीव्ररुपमा अघि बढिरहेको छ । छिमेकी जिल्ला तनहुँ नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका बोराङखोलासम्मको १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इन्जिनीयर सुमन गिरीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘निषेधाज्ञा र कोरोना सङ्क्रमणका बेलासमेत विकास निर्माणलाई तीव्रता दिँदै यस सडकमा कालोपत्र गर्ने कार्य भइरहेको छ । सरकारले जनतालाई छिटोछरितो सेवा प्रदान गर्नका लागिसमेत महामारीका बेला स्वास्थ्य सावधानी अपनाउँदै विकास निर्माण कार्यलाई अघि बढाइरहेको छ ।’’ जिल्लाको राइनास नगरपालिकाअन्तर्गत नगरको मुख्य सडक नेपालडाँडा–तार्कुघाट–बोराङखोला सडक हो । यस सडकको कालोपत्र गर्ने कार्य ७० प्रतिशत सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङका यस सडकखण्ड हेर्ने इन्जिनीयर सुरज रिमालले बताउनुभयो ।

धमिलीकुवादेखि तीनपिप्लेसम्म छ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको उहाँको भनाइ छ । नेपालडाँडा–तार्कुघाट हुँदै भैँसीखोलासम्म कालोपत्र गर्ने कार्य भइरहेको छ । कालोपत्र गर्ने कार्य गत चैत २७ गतेदेखि शुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । यस सडक गण्डकी प्रदेश सरकारको प्रादेशिक सडक योजनाअन्तर्गत १० किलोमिटर सडक कालोपत्र भइरहेको हो । 

यस सडक निर्माणको प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत उक्त सडक २०७६ पुसदेखि आगामी २०७८ मङ्सिरसम्म निर्माण अवधि रहेको छ । सो अगावै आगामी असार महिनाभित्रै निर्माण कार्य सम्पन्न हुने बताइएको छ । गत वर्षमा समेत कोरोनाका कारणले सरकारद्वारा जारी लकडाउनका बेला नौ महिना निर्माण कार्य ठप्प भए पनि यस सडकको निर्माण कार्य धेरै छिटो र गुणस्तरीय भइरहेको इन्जिनीयर रिमालको भनाइ छ । 

उहाँका अनुसार हालसम्म समग्रमा यस सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । हालसम्म १० किलोमिटरतर्फ नाली र अर्कोतर्फ करीब एक हजार ५०० मिटर गरी साढे ११ किलोमिटर नाली बनाउने कार्य, मेशिनरी पर्खाल लगाउने कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, भैँसीखोला, भब्बेडाँडा, सातबिसेखोला र रेमीखोलामा पक्की पुल निर्माण कार्यसमेत सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

त्यस्तै विभिन्न स्थानमा  हिमपाइप, छ वटा कज्वे बनाउने कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडक निर्माण तथा कालोपत्रका लागि प्रदेश सरकारको रु २८ करोड ७४ लाख ७५ हजार १८७ लामा कन्सट्रक्शन प्रालिले यस सडकको निर्माण कार्य गरिरहेको छ । यस सडक कालोपत्र भएसँगै यस पालिकाका नागरिकसँगै दूधपोपारी गाउँपालिका र छिमेकी जिल्ला गोरखा नागरिकलाई धेरै सहज हुने भएको छ । यस सडक तनहुँ भानु नगरपालिका–१० नेपालडाँडादेखि लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटसम्म एक किलोमिटर भूभाग तनहुँमा पर्दछ भने तार्कुघाटदेखि वडा नं १ बोराङखोलासम्म नौ किलोमिटर सडक लमजुङतर्फ पर्दछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!