लमजुङको तामाङ बस्तीमा 'होमस्टे' सञ्चालन

Posted on: 19 Jan, 2017

माघ ६, लमजुङ । जिल्लामै पहिलोचोटी तामाङ बस्तीमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । 

भुलभुले गाविसअन्तर्गत भुस्मेको तामाङ बस्तीमा होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न गाउँमा होमस्टे सुरु गरिएको होमस्टे सञ्चालन समितिका अध्यक्ष होमराज तामाङले बताउनुभयो । 

“गाउँबाट बसाइँसरी अन्यत्र गएकालाई गाउँमै फर्काउन र लोप हुन लागेको संस्कृतिलाई जोगाउन होमस्टे सुरु गरिएको हो,” उहाँले भन्नुभयो । पचपन्न घरधुरी रहेको भुस्मेगाउँमा तीनवटा घरबाट सुरु गरिएको होमस्टे १० वटा घरसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । यहाँका होमस्टेमा अहिले ३० जनाभन्दा बढी पाहुना राख्न सकिन्छ । 

होमस्टे सञ्चालनका लागि गाउँमै प्रशिक्षक बोलाएर तालिम प्रदान गरिएको छ । होमराज तामाङ, नारायण तामाङ र धनसिंह तामाङको घरमा होमस्टे सञ्चालनका लाग आवश्यक पूर्वाधार निर्माण गरिएको छ । भुस्मे गाउँ आलु उत्पादनका लागि प्रसिद्ध छ । पछिल्लो समय यहाँका किसान अलैँची खेतीतर्फ समेत आकर्षित भएका छन् । 

नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्ष अजय तामाङका अनुसार गाउँमा पुग्ने पर्यटकले स्थानीय खानाको स्वाद लिन पाउने छन् । होमस्टेमा बस्न आउने पर्यटकलाई परम्परागत खाना कोदोको ढिँडो, लोकल कुखुराको मासु, फापरको परिकार, मस्याङ्को दाल, वन तरुल, सिस्नुको खोले, च्याउको परिकार खुवाइन्छ । 

गाउँमा आएका पाहुनालाई तामाङ संस्कृतिअन्तर्गत तामाङ सेला, डम्फू नाच, म्हेन्दो माया नाच, मने नाच, तम्बा नाचबाट मनोरञ्जन दिने गरिएको छ । यसअघि बेसीसहरको नरुवालस्थित मगर बस्तीमा पनि होमस्टे सुरु गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!