लमजुङमा पनि प्राधिकरणको कार्यालय स्थापना

Posted on: 30 Nov, 2017

मङ्सिर १४, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लमजुङको बेशीसहरमा पनि कार्यालय स्थापना गरेको छ । भूकम्प कम प्रभावित १७ जिल्ला मध्ये लमजुङमा पनि जिल्ला समन्वय समितिको सचिवालय स्थापना गरिएको हो । भूकम्प पीडितलाई दिने अनुदान र सहयोगका साथै गुनासो सम्बोधन गर्न सहज होस भन्ने उद्देश्यले प्राधिकरणले लमजुङमा पनि कार्यालय स्थापना गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले सोमवार लमजुङको बेशीसहर पुगेर कार्यालयको उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत भूसालले भूकम्प पीडितलाई सरकारी तवरबाट प्राप्त हुने सेवालाई अझै सरलीकृत गर्न र सरोकारवाला निकायसँग समन्वय गरी पुनर्निर्माणलाई थप तिव्रता दिन जिल्लामा प्राधिकरणले कार्यालयको स्थापना गरेको बताउनुभयो ।

उहाँले भूकम्प पीडितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न जिल्लास्थित सरोकारवाला निकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।


पुनर्निर्माणका लागि देखिएको प्राविधिक जनशक्तिको समस्यालाई निराकरण गर्न आगामी पौष मसान्तभित्रै ५४ हजार डकर्मीलाई भूकम्प प्रतिरोधी तालिम दिने तयारी भइरहेको भन्दै सिइओ भूसालले अव इन्जिनियर र ओभरसियर नभएकै कारण घर बनाउन नपाउने अवस्थाको अन्त्य हुने उल्लेख गर्नुभयो ।

कार्यालय उदघा्टन समारोहमा प्राधिकरणका सहसचिव प्रकाश थापा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना उपनिर्देशक नारायण श्रेष्ठ, प्राधिकरणका सुचना शाखा प्रमुख मनोहर प्रसाद घिमिरे लगायतको उपस्थिती थियो ।

कार्यालय स्थापनापछि सिइओ भूसाल नेतृत्वको प्राधिकरणको टोलीले जिल्लाको मैगुम गाँउपालिका वडा नम्वर ७ मा भूकम्प पीडितहरुले पुनर्निर्माण गरेका र गर्दे गरेका घरहरुको अवलोकन गर्नुका साथै भूकम्पपीडितहरुसँग अन्तरक्रिया गरेको थियो ।

प्राधिकरणको टोलीले तनहुँका विभिन्न स्थानमा पनि भूकम्प पीडितहरुसँग अन्तरक्रिया गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!