स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

Posted on: 09 Jun, 2019


जेठ २६ ,लमजुङ |गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो ।

पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताउनुभयो । वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको बताउनुभयो ।

झ्याङखोलाको मोटरेवल पुल नहुँदा सवारीसाधनलगायत पैदलयात्रीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विषेशगरी झिङ्गेखोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।

झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको रु ११ लाख र श्रमदान रु एक लाख १० हजार गरी कूल रु १२ लाख १० हजारमा पुल निर्माण भएको निर्माण समितिका अध्यक्ष गोकुल रावलले बताउनुभयो ।त्यसैगरी नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै रु ३० लाखको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!