न्यादी आयोजनाबाट मस्र्याङ्दीलाई रु १५ लाख रोयल्टी

Posted on: 01 Jul, 2020

असार १७, लमजुङ। निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजनाले  मस्र्याङ्दी गाउँपालिकालाई रु १५ लाख रोयल्टी रकम हस्तान्तरण गरेको छ ।  सो गाउँपालिकामा आफूले प्रयोग गरेको ढुङ्गा, गिटी, बालुवावापतको रोयल्टी रकम गाउँपालिकालाई प्रदान गरिएको हो । 

स्थानीय सरकार ऐन २०७४ मा व्यवस्था भएबमोजिम गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई उहाँकै कार्यकक्षमा बुटवल पावर कम्पनी लिमिटेडका उपमहाप्रबन्धक टीकाराम भट्टले सो रकमको चेक हस्तान्तरण गर्नुभयो । गाउँपालिकाभित्र सञ्चालित योजना वा आयोजनाले प्राकृतिक स्रोतसाधन उपयोग गरेवापत रोयल्टी उठाइने प्रावधानबमोजिम गाउँपालिकाले उक्त रकम लिएको अध्यक्ष गुरुङले बताउनुभयो । सो आयोजनाको निर्माण थालिएदेखि ढुङ्गा, गिटी, बालुवालगायत वस्तु उपयोग गर्दै आएकाले रोयल्टीवापतको सो रकम गाउँपालिकालाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङ जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका –६ मा निमार्णाधीन  आयोजनाले विसं २०७३ चैतदेखि काम गर्दै आएको छ । अनुमानित रु ६ अर्ब लागतमा निर्माण सक्ने लक्ष्यका साथ अघि बढेको आयोजनाको हालसम्म ८५ प्रतिशत सम्पन्न भएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!