कास्की र लमजुङको विकासमा साझेदारीको आवश्यकता : मन्त्री थापा

Posted on: 25 Aug, 2017

भदौ ९,पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले कास्की र लमजुङ जिल्लाको सिमानाको विकासका लागि साझेदारीको आवश्यकता रहेको बताउनुभएको छ । 

कास्कीसँग सीमा जोडिएको लमजुङको मध्यनेपाल नगरपालिकामा बिहीबार आयोजित जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा उहाँले सिमाना जोडिएका जिल्लाको विकास एकआपसको साझेदारीले मात्र सम्भव हुने बताउनुभयो । 

आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि क्रियाशील बन्नुपर्ने आजको आवश्यकता भएको बताउँदै उहाँले स्थानीय शासन विधेयक यथाशीघ्र पारित हुने विश्वास व्यक्त गर्नुभयो । बेगनास–भोर्लेटार सडक र सिक्लेस–सिसाघाट (मादी कोरिडोर)लाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको हुँदा निकट भविष्यमा दुवै योजना सम्पन्न हुनेमा मन्त्री थापा विश्वस्त हुनुहुन्थ्यो । 

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे र उपप्रमुख रामकुमार श्रेष्ठले नगरपालिकाको गतिविधिबारे जानकारी गराउनुभएको थियो । 

मन्त्री थापाले बिहीबार नै नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका–३१ का कार्यकर्तासँगको भेटघाटमा जनभावना बुझेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । कास्की जिल्लाको रुपा गाउँपालिकाको थुम्कीमा बुधबार निधन भएका समाजसेवी एवं राजनीतिज्ञ थमन सिं गुरुङको परिवारलाई भेटी उहाँले समवेदना प्रकट गर्नुभएको थियो । 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले गुरुङको सपना साकार पार्न कार्यकर्ता संगठित भएर लाग्नुपर्ने बताउनुभयो । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!