लमजुङमा छ राजनीतिक दललाई शून्य मत

Posted on: 15 Dec, 2017

मङ्सिर २९, लमजुङ । लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् । 

मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाल दलित पार्टी, हाम्रो पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक) र एकल चिह्न सिपाही लिएका पार्टीले शून्य मत प्राप्त गरेका हुन् । 

यसैगरी, प्रदेशसभा ‘ख’ तर्फ देशभक्त जनगणतान्त्रिक मोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले शून्य मत प्राप्त गरेका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ दुवैमा मत पाएको छैन । प्रदेशसभा ‘क’ तर्फ भने शून्य मत पाउने दल नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दल रहेकामा एक मत पाउने सात दल, दुई मत पाउने छ दल र सोबाहेक १० भन्दा कम पाउने नौ दल रहेका छन् । यस्तै प्रदेशसभा ‘क’ तर्फ १० भन्दा कम मत पाउने छ दल रहेका छन् भने प्रदेशसभा ‘ख’ तर्फ शून्यबाहेक १० भन्दा कम मत पाउने चार दल रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फ २० दल रहेका थिए । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!