लमजुङमा कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

Posted on: 06 Mar, 2018

फागुन २२, लमजुङ | जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । 

कृषि कार्यालयका प्रमुख कृष्णभक्त अधिकारीकाअनुसार सुन्दरबजार सेवा केन्द्रको भवन, फर्निचर र १८ रोपनी जग्गा तथा राइनसको भवन, फर्निचर र आठ रोपनी जग्गा सम्बन्धित नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

सरकारको निर्णयअनुसार उक्त केन्द्रको भौतिक पूर्वाधार स्थानीय तहमा हस्तान्तरण गरिएको अधिकारीले बताउनुभयो । जिल्लाका अन्य चार गाउँपालिका र दुई नगरपालिकाका सेवा केन्द्र पनि हस्तान्तरणको क्रममा रहेको अधिकारीले बताउनुभयो । जिल्लामा कृषि विकास कार्यालयअन्तर्गत आठवटा कृषि सेवा केन्द्र रहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!