लमजुङको दोर्दीमा जमीन भासिएपछि बस्ति नै उच्च जोखिममा

Posted on: 08 Aug, 2018

साउन २३, लमजुङ | दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् । 

निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । जिल्लाबाट प्राविधिकको टोलि स्थलगत अवलोकनका लागि गाउँ पुगेको थियो । प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ । 

प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजीकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । 

सडकसँगै अन्य जमीन पनि भासिन थालेपछि गाउँ नै जोखिममा परेको हो । जोखिममा रहेका स्थानीयवासीलाई तत्कालका लागि अस्थायी स्थानान्तरण गर्न लागिएको प्रमुखख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । बैठकबाट सम्बन्धित गाउँपालिकासँग समन्वय गरी आवश्यक राहत उपलब्ध गराइने निर्णय भएको प्रजिअ ढकालले बताउनुभयो । जोखिममा परेको बस्तीमा राहत तथा उचित व्यवस्थापनका लागि सहयोग गर्न सरोकार भएका सरकारी तथा गैरसरकारी निकायलाई पनि आग्रह गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!