इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

Posted on: 04 Mar, 2019

फागुन २०, दमौली | लमजुङको मध्यनेपाल नगरपालिका–७ स्थित इशानेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा आज दर्शनार्थीको ठूलो घुइँचो लागेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको समितिका अध्यक्ष रामचन्द्र शास्त्रीले जानकारी दिनुभयो । 

आज श्रवण नक्षत्रको स्वामी चन्द्रमा परेकाले यस पटकको शिवरात्रि पुण्यदायक मानिएको छ । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवका रूपमा पनि पुज्ने प्रचलन रहेकाले मन्दिरमा दर्शनार्थी आउने गरेको शास्त्रीले बताउनुभयो । उहाँका अनुसार इशानेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास रहिआएको छ । 

अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको सङ्ख्या धेरै रहेको समितिले जनाएको छ । मन्दिरमा बिहान चार बजेदेखि नै शिवको पूजा आराधना गर्ने र दर्शन गर्नेको घुइँचो लागेको छ । मन्दिरमा छिमेकी जिल्ला तनहुँ, कास्की, गोरखा, धादिङ, चितवनलगायत जिल्लाबाट भक्तजन आएका छन् । 

महाशिवरात्रिको अवसर पारी लामो समयअघि देखि सन्तान नभएका दम्पतीले मन्दिर परिसरमा रातभरि जाग्राम रही ठाडो बत्ती बाल्ने तयारी गरिएको छ । रातभरि जाग्राम भएर ठाडो बत्ती बालेमा सन्तान लाभ हुने धार्मिक विश्वासले बत्ती बाल्नका लागि काठमाडौँ, कास्की, चितवन, तनहुँ, गोरखा, पर्वत, स्याङजा, नवलपरासीदेखिका भक्तजन यहाँ आइपुगेका छन् । करीब ६०० वर्ष अघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् । विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यसबेलादेखि आजसम्म श्रद्धालु भक्तजनद्वारा पूजाअर्चना हुँदै आएको समितिका अध्यक्ष शास्त्रीले बताउनुभयो । 

प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । 

“त्यसबेलादेखि नै इशानेश्वर महादेव मन्दिरमा सन्तानको चाहना राख्नेले ठाडो बत्ती बाल्ने गर्दछन्,” अध्यक्ष शास्त्रीले भन्नुभयो, “ठाडो बत्ती बाल्नेको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ ।” महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा पशुपतिनाथपछि धेरै दर्शनार्थी यस मन्दिरमा आउने गरेको घिमिरेको दाबी छ । मन्दिरमा झ्याल, ढोका र टँुडालमा कुँदिएका मूर्ति, चित्र र जडान गरिएका इँटा र ढुङ्गाको अध्ययन एवं विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ । 

करीब ५० फिट अग्लो र २० फिट चौडा भएको मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग रहेको छ भने वरिपरि शिवपञ्चायनको मूर्तिहरु छन् । मन्दिरको पूर्व दिशामा सय मिटर पूर्व पार्वताको मन्दिर र पाँच सय मिटरमा गोमतीको किनारमा गणेशको मन्दिर छ । मन्दिरमा वैशाख, साउन र कात्तिक महीनामा टाढाटाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना हुने गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!