नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको लमजुङको पर्यटकको आकर्षण चिया बगान

Posted on: 05 Jul, 2019

असार २०, लमजुङ । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।

चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने काठमाडौँबाट घलेगाउँ आएका पर्यटक अनिल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो चिया बगानले म लगायतसँगै आएको साथीहरुको समेत मन तानेको छ । महर्जन लगायत यहाँ आएका जो कोहीको पनि यस चिया बगान आकर्षणको केन्द्र बन्ने गरेको छ । इलामको चिया बगानको झल्को दिने यस चिया बगान हेर्नकै लागि समेत आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय कृषक भुजुङकी मीनकुमारी गुरुङले बताउनुभयो । 

घलेगाउँका स्थानीय दीर्घराज घलेका अनुसार दैनिक १०० देखि ३०० सम्म आन्तरिक पर्यटक चिया बगान पुग्ने गर्दछन् । पर्यटकको आकर्षण चिया बगान बन्न थालेपछि गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा लिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । “पहिला यहाँको प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, उहाँले भन्नुभयो”, “यहाँका स्थानीयलाई चिया बगानले आर्थिक समृद्धितर्फ अघि बढाएको छ ।” चियाखेती हेर्न पर्यटकको ओइरो लागिरहेको घलेगाउँ चियाखेतीका अध्यक्ष यमप्रसाद घलेले भन्नुभयो ।

समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको चिया बगान ७५० रोपनीमा लगाइए पनि पाँच सय रोपनी क्षेत्रफलमा राम्रो चियाखेती भइरहेको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पहिलोपटक परीक्षणका रूपमा २०५५ सालमा चियाखेती गरेको थियो । अहिले घलेगाउँमा २०० रोपनी, भुजुङमा ४०० रोपनी  र पसगाउँमा १५० रोपनी क्षेत्रफल जमीनमा चियाखेती गरिरहेको उहाँले जानकारी दिनुभयो । विसं २०५५ बाटै चियाखेतीको शुरुआत गरिए पनि जनयुद्धका कारण चियाखेती फष्टाउन नसकेको र पछि मुलुकमा शान्ति स्थापना भएपछि व्यावसायिकरुपमा चियाखेती गरिएको एक्याप कार्यालय प्रमुख गुप्ताको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!