लमजुङमा रातभर खोलामा फसेका सात जनाको उद्धार

Posted on: 16 Jun, 2021

असार २, लमजुङ (रासस) । लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका—७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो । 

उद्धार गरिएकाहरुमा  लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र  अर्जुन परियार रहेका छन् । मङ्गलबार दिउँसो खेत रोपाइँ गर्न गएका उनीहरू मिदिम खोलामा बाढी आएपछि आउन नसकेर  रातभर खोलाको बीचमै रोकिएका थिए ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले भन्नुभयो, “खोलामा पानी घटेको छैन, खोलाको केही पानी अन्यत्र लगाएर डोजरमार्फत उद्धार ग¥यौँ ।” खोलाले सो क्षेत्रका खेतहरु धेरै बगाएको छ । नगरप्रमुख पाण्डेले नगरवासीलाई सुरक्षितसँग बस्न आग्रह गर्नभएको छ । 

एक सरकारी कार्यालय, पानी उद्योग बगायो

मस्र्याङ्दी नदीमा आएको बाढीले आज लमजुङ मस्र्याङ्दी गाउँपालिका—८ भुलभुलेमा रहेको एक सरकारी कार्यालय, पानी उद्योग, एक रेष्टुरेण्ट बगाएको छ । आइतबारदेखि निरन्तर वर्षासँगै आएको बाढीले सव—डिभिजन वन कार्यालय, लेकबेँसी पानी उद्योग र हामखोला रेष्टुरेन्ट एण्ड लज बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार ती कार्यालय, उद्योग तथा रेष्टुरेण्टमा रहेका कागजात, विभिन्न सामग्री, तथा मेशिन बगाएको छ । 

त्यस्तै, जिल्लाको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षेमताको आयोजनामा दोर्दी खोलाको बाढीले विभिन्न सामग्री बगाउनुका साथै विभिन्न मेशिन पुरेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । 

आयोजनाको विद्युत् गृहमा बाढी छिरेर सिरुङभित्र रहेको सिमेन्टहरु, त्यहाँ रहेका विभिन्न मेशिन तथा सामग्रीहरु पुरेको छ भने सानो हेडबक्समा समेत केही क्षति पुगेको आयोजनाले जनाएको छ । प्रमु खोला र दोर्दी खोलाको बीचमा रहेको सो हेडबक्समा काम गर्ने कामदारहरु दिउँसो खाना खानका लागि क्याम्पमा आएकाले मानवीय क्षति हुन पाएन । 

पुल तथा बाटो नहुँदा त्यस साइटमा काम गर्ने २०० जना कामदार त्यही रोकिएको र उनीहरु सुरक्षितका साथ त्यहाँ रहेका ३÷४ वटा क्याम्पमा बसिरहेका छन् । आयोजनाको प्रमुख क्याम्पमा समेत आउने जाने बाटो भत्किएकाले त्यहाँ रहेका साढे दुई सय जना सोही स्थानमै रोकिरहेको आयोजनाले जनाएको छ । निर्माणको अन्तिम चरणमा पुगेको यस आयोजनाको सबै काम ठप्प भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!