“कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान निहारिकालाई

Posted on: 23 Oct, 2016

सास । कार्तिक ७, बर्दिया ।

बर्दियाको माटोमा नै जीवनको केही महत्वपूर्ण समय व्यतित गरी पछिल्लो समयमा बहुचर्चित उपन्यास “चीरहरण’ की लेखिका नीलम कार्की निहारिकालाई “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी साहित्य सम्मान (२०७३) बाट सम्मानित गरिने भएको छ ।


पद्मश्री पुरस्कारबाट यो कृति सम्मानित भएपछि पछिल्लो समयमा निकै चर्चामा आउनुभएकी स्रष्टा नीलम कार्की निहारिका पछिल्लो समयमा अमेरीकामा बसोबास गरी नेपाली साहित्यको साधना र श्रीवृद्धिमा लाग्नुभएको छ । 

यसै वर्षदेखि धार्मिक, सामाजिक र साहित्यिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यका साथ बर्दियाली श्रष्टा “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदी को नामबाट हाल स्थापित रु. ५० हजारको अक्षय कोषबाट प्राप्त व्याजको रकमबाट यज्ञप्रसाद सुवेदी प्रतिष्ठानले निहारिकालाई सुवेदीको ७९औँ जन्मदिनको अवसरमा यही कार्तिक १२ गते पहिलोपटक यो सम्मान अर्पण गर्न लागेको आयोजक संस्था प्रतिष्ठान र कृष्णसार पाठक मञ्च बर्दियाले जनाएको छ । अक्षय कोषको रकम वृद्धि गर्दै लगिने प्रतिष्ठानका अध्यक्ष एवम् “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीकी धर्मपत्नी भीमा सुवदीले बताउनुभयाे ।

सोही दिन “कविगुरु” स्व. यज्ञप्रसाद सुवेदीको १३औँ कृति “कल्पना सङ्ग्ह भाग चार” को समेत लोकार्पण गरिने कार्यक्रम तय भएको मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले बताउनुभएको छ ।

गुलरिया स्थित मिरर होटलमा दिउसो १ बजे आयोजना गरिएको कार्यक्रममा बर्दिया तथा बाँके जिल्लाबाट विभिन्न विधामा कलम चलाउँदै आउनुभएका विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति हुने बताइएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!