इतिहास बरु झुठो हुन सक्छ : नीलम कार्की निहारिका

Posted on: 29 Oct, 2016

सास । कार्तिक १३, बर्दिया 

बर्दियालाई कर्मक्षेत्र बनाएर पछिल्लो समय अमेरीकामा बसोबास गर्दै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाले इतिहास बरु झुठो हुन सक्ने तर साहित्य कहिल्यै पनि झुठो नहुने दाबी गर्नुभएको छ ।


कविगुरु यज्ञप्रसाद सुवेदी प्रतिष्ठानबाट साहित्य सम्मान ग्रहण गर्दे सदरमुकाम गुलरियामा शुक्रवार वहाँले उपरोक्त कुरा बताउनुभएको हो । पछिल्लो एक दशकदेखि अमेरीकामा रहँदै आउनुभएकी साहित्यिक श्रष्टा नीलम कार्की निहारिकाको बहुचर्चित उपन्यास चीरहरणले हालै मात्र पद्मश्री पुरस्कार प्राप्त गरेको थियो ।

कार्यक्रममा निहारिकाले यसरी आफ्नो कर्मभूमिमा सम्मानित हुन पाउँदा हर्षविभोर भएको बताउनुहँदै यो सम्मानले मलाई बर्दियाप्रतिको माया र सद्भावको गहिराई अझ बढाएको बताउनुभयो । आफू चर्चामा आउनका लागि मात्रै सिर्जना नगरेर समाजको यथार्थतालाई चीर्नका लागि र समाजको सकारात्मक रुपान्तरणको लागि आफूले चीरहरण लेखेको बताउनुभयो । यसरी बर्दियामा आउन पाउँदा आप्mनो विगत र बुवाले यस भूमिमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै आज मेरो बुवा हुनुभएको भए कत्ति खुशी हुनुहुन्थ्यो, भन्दै निकै भावुक हुनुभएको थियो ।

 

कार्यक्रमा प्रमुख अतिथिका रुपमा रहनुभएका वरिष्ठ साहित्यकार सनत रेग्मीले बर्दियाली स्रष्टा कविगुरुको नामबाट परिवारले गरेको यो पवित्र कार्यको सह्राना गर्दै यो कार्यको निरन्तरताको कामना गर्नुभयो । बर्दिया पनि साहित्यको क्षेत्रमा निकै उर्वर भएको महशुस भएको र पहिलाभन्दा निकै फरक अनुभूति भएको बताउनुभयो ।

आज लोकार्पण गरिएको कृति कल्पना सङ्ग्रह भाग चारमाथि समालोचनात्मक अभिव्यक्ति राख्नुहुँदै कृष्णसार पाठक मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवले यस कृतिमा समेटिएका हरेक रचनाहरुले समाजमा लुकेर रहेका सामाजिक यथार्थतालाई बोलिरहेको औंल्याउनुभयो । 


प्रतिष्ठानका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष भीमा सुवेदीले यसरी कविगुरुको नाममा प्रतिष्ठान बनाएर पहिलो पटक बर्दियाली विदुषी पुत्री नीलम कार्की निहारिकालाई सम्मान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । 

कार्यक्रममा बाँके तथा बर्दियाका स्थापित विभिन्न भाषाभाषीका साहित्यिक व्यक्तित्वहरुले साहित्यिक रचनाका साथै शुभकामना राख्नुभएको थियो ।

 

साथै कविगुरु यज्ञप्रसाद सुवेदीका जेष्ठ सुपुत्र अर्जुन सुवेदीले मञ्चका संयोजक अयोध्याप्रसाद श्रीवास्तवलाई अक्षयकोष वृद्धिको लागि पचास हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । प्रत्येक वर्ष कार्तिक १२ गते साहित्यिक, सामाजिक र धार्मिक अभियन्ताहरुलाई सम्मान गरिने प्रतिष्ठानका सदस्य प्रभात सुवेदीले बताउनुभएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!