ब्वाइफ्रेन्ड बनाउने रहर

Posted on: 20 Feb, 2017


  1. सबिता सापकोटा


 भर्खर कक्षा ६ मा उक्लिएकी छिमेकमा बस्ने नानीले सोधिन्– ‘दिदी हजुरको ब्वाइफ्रेन्ड छ ?’

मैले जवाफ दिइनँ ।

त्यसअघि आन्टीको छोराले भनेको थियो, ‘मैले हिजो हजुरलाई ब्वाइफ्रेन्डसँग देखेको ।’ कति निर्धक्कसँग भन्यो उसले मलाई ब्वाइफ्रेन्डसँग देखेको !

सायद हिजो केटासाथीको बाइकमा आइरहेको देखेर उसले त्यसो भनेको हुनुपर्छ । मैले उसलाई जिस्केर भनिदिएकी थिएँ– ‘कस्तो छ ?’ उसले ‘राम्रै छ तर अलि काले रहेछ’ भन्यो ।

यति साना केटाकेटीलाई प्रेमप्रति कति चासो ! जमाना कहाँदेखि कहाँ पुगिसक्यो । मेरी आमाको पालामा प्रेम भन्ने शब्दै थाहा नपाई अपरिचित मेरा बासँग बिहे भयो । तर, अहिले भने भर्खर ५, ६ कक्षा पढ्दै गरेका नानीबाबुहरू लभको कुरा गर्छन् ।

हामी स्कुल पढ्दासमेत ‘लभ’ भन्ने यति खुलेआम भइसकेको थियो । ९, १० कक्षा पढ्दा भने कक्षामा एक–दुई जोडी थिए । जिस्काउन खूब रमाइलो लाग्थ्यो ।

उमेरसँगै बढ्दै गरेका रहरमा एक चाहना थियो, अनि डुलिहिँड्ने रहर पनि । कहिलेकाहीँ मेरी साथी आफ्नो ब्वाइफ्रेन्डको बाइकमा चढेर आउँदा मलाई पनि ब्वाइफ्रेन्ड बनाऊँजस्तो कहाँ नलागेको हो र ?


धेरै बेरसम्म कुर्नुपर्ने पब्लिक बस, अनि गुन्द्रक खाँदेजसरी खाँदिनुपर्ने मान्छे । बाख्राको खोरजस्तै लाग्थ्यो माइक्रो त । उभिएर खुट्टा दुख्दा बाइकको पछाडि बसेर सरर गुड्ने  रहर कहिलेकाहीँ जाग्थ्यो । तर, हरेक कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । ब्वाइफ्रेन्ड बनाएर उसको बाइकमा कुदेको भए मैले त्यो माइक्रोबसमा हिँड्दा भोग्ने दुःखको सामना कहाँ गर्न पाउँथे र ! एक्लै बसमा जता पनि पुग्न सक्ने आत्मविश्वास कसरी विकसित हुन्थ्यो र ! जीवनमा जति दुःख आइलाग्छ, त्यति नै सुख मिल्छ रे ।


कहिलेकाहीँ कलेजमा केटा साथीहरूले आफ्नी गर्लफ्रेन्डको असाइन्मेन्ट गरिदिँदा मलाई पनि एउटा केटो पट्याऊँ भन्ने रहर पलाएकै हो । इख पनि लागेकै हो ।  आखिर म पनि उनीहरू जस्तै टिनएजमा थिएँ । खोइ किन हो, रहर जाग्यो तर मन लागेन ।

केही दिनअघि माइक्रोबसको अघिल्लो सिटमा बसेर एउटा युवकले आफ्नी गर्लफ्रेन्डको कपाल सुमसुम्याउँदा मलाई पनि कसैको हात मेरो टाउकोमा आएको सपनाले सताएकै हो ।

कहिलेकाहीँ रोमान्टिक स्टोरी पढ्दा आफैँलाई त्यसका पात्रहरूसँग दाँजेर कल्पनाको सागरमा हराएकी हुन्छु । कसैको अँगालोमा बेरिएर शरीरको स्पर्शले यो दिलमा बास गर्न आउँदाको पलले मनमनै थपडी मार्छ । केही फिल्मका दृश्यले आफैँलाई गिज्याएजस्तो लाग्छ ।

जीवन चाहनाको भण्डार हो । बोटमा लटरम्म फलेका फलजस्तै हुन् चाहना पनि । एकपछि अर्को गर्दै झर्दै जान्छन् या त झारिन्छ कसैले हानेर या वर्षातसँगै आउने असिनाले चुटेर ।

कसैलाई माया गर्नु, मनका भावना साट्नु, घुम्न जानु गलत कुरा होइनन् । तर, मायालाई नै सबैथोक सम्झेर बिछोडको घडीमा पागलपन देखाउनु या त आफ्ना जन्म दिने बाबुआमाभन्दा अरूलाई नै सर्वस्व ठान्नु गलत होजस्तो लाग्छ । जन्मँदा एक्लै जन्मिने हो । मर्दा एक्लै मर्ने हो भने जीवन पनि एक्लै बाँच्न सकिन्छ भन्ने अति आदर्शवान् पनि हुन चाहन्नँ । जीवनमा कसैको साथको आवश्यकता पर्दैन भन्ने मलाई लाग्दै लाग्दैन । तर, सबै आवश्यकतामा अरूको भर पर्नु राम्र्रो होइन भन्ने पनि लाग्छ ।


केही युवती देख्दा अचम्म लाग्छ, जो जीवनका स–साना आवश्यकता पूर्तिका लागि केटाको भर पर्छन् । सानो चिम्टी काँटा किन्न जान समेत उनीहरूलाई ब्वाइफ्रेन्डको सहायता चाहिन्छ । बिहे गरेका केही महिला देख्छु, जो आफूले गर्न सक्ने काममा पनि श्रीमान्को भर पर्छन् । यसरी हरेक काममा पुरुषको हात समाउनुपर्ने महिलाहरू कहिले सक्षम बन्छन् होला भनेर आफैँलाई सोध्छु । अनि, त्यो सहयोगी ब्वाइफ्रेन्डको सपना थाती राख्छु ।

युग परिवर्तन भइसक्यो । आजकल महिलाहरू पनि सक्षम बन्न थालेका छन् । आफ्नै खुट्टामा उभिएर आफ्नो बेग्लै पहिचान बनाउन अगाडि बढेका छन् । तर, त्यस्ता महिलाहरूको कमी छ, जसले पहिला आफ्नो श्रीमान्लाई बाइक, स्कुटी या कारमा अफिस छोडेर आफ्नो अफिस जान्छन् । सायद यस्ता प्रेमिकाको चाहिँ अभाव नै होला शहरमा, जो आफ्नो प्रेमीलाई बाइक, स्कुटी या कारमा राखेर घुमाउँछन् । एउटा प्रेमीले प्रेमिकाको लवाइ, खुवाइदेखि लिएर सबै खर्च बेहोर्न सक्छ भने प्रेमिकाहरूले आफैँ कमाएर किन गर्न सक्दैनन् ?


यसरी अरूको कमाइमा गरेको मोजमस्तीले क्षणिक आनन्द दिए पनि भविष्यमा सकारात्मक प्रभाव पार्ला त ? के सोच्छन् दिवा सपनामा रुमलिएर हिँड्ने पे्रमिकाहरू ? केही दिनको मोजमस्तीले भविष्यमा अत्याचार र दमनको अवस्था सिर्जना गर्ला भन्ने सोच्दैनन् । लाग्छ, आफू सक्षम नभई ब्वाइफ्रेन्ड बनाउनुको आनन्द बेला–बेला झुल्किने इन्द्रेणीमात्रै पो हो कि ? त्यसैले तत्कालका लागि स्थगित गरेकी छु, ब्वाइफ्रेन्ड बनाउने रहर । लाग्दै छु, आत्मनिर्भर बन्ने बाटोमा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!