'मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

Posted on: 26 Jan, 2018

माघ १२, काठमाडौँ | आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । 

लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी गराइयो । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र जुम्लेली समाजले आयोजना गरेको पुस्तक लोकार्पण समारोहमा संस्कृतिविद् डा जगमान गुरुङले कर्णाली नेपालको सांस्कृतिक ढुकुटीका रुपमा रहेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्णालीकै स्थायीवासीले लेखेको पुस्तकका सूचना आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । प्रा डा सुरेन्द्र केसीले कर्णालीको यातायात संरचनामा वार्षिक सयौँ मानिस मर्ने गरेकोप्रति राज्य संयन्त्रको ध्यान जान नसकेको सुनाउनुभयो । 

कार्यक्रममा देउडा गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी, पत्रकार प्रेम कैदीलगायतले कर्णालीको संस्कृतिका विषयमा अझै पर्याप्त चर्चा हुन नसकेको गुनासो गर्नुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!