नारी कवितामा आमा, छोरी र पत्नीको पीडा

Posted on: 23 Feb, 2018

फागुन ११, काठमाडौँ । ‘अखबारहरु सनसनीपूर्ण बनाउँछन् 

मात्र महिलाहरु समाचार हुन् 

पत्रिका बिकाउने 

अखबारहरु लुटिएको अस्मिता बोकेर आउँछन्...’(डा रजनी ढकाल) 

दुई युवा कविले आज नेपाली नारीका दुःखसुखका अनुभूति र हिंसालाई काव्यमार्फत पोखेका छन् । जनसाहित्यिक मञ्च नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’४४औँ शृङ्खलामा डा रजनी ढकाल र सुष्मिता नेपालले १०–१० छोटा कवितामार्फत आमा, छोरी र पत्नीले भोगेका सहस्र पीडालाई सरल शैलीमा अभिव्यक्ति दिए । 

डा ढकालका कविता तार्किक र नेपालका कवितामा भावनामा बगेका थिए । ती कविता फेशनका रुपमा आएको नारीवादी कविता नभई पितृसत्तात्मक समाजमा नारीले भोगेका दुःख, पीडा र आरोहअवरोहलाई छताछुल्ल रुपमा अभिव्यक्त भएका थिए । दुवै कवि क्याम्पसमा प्राध्यापनरत रही नेपाली साहित्यको समालोचना विधामा सक्रिय छन् । 

वाचित कवितामाथि समीक्षा गर्दै उपप्राध्यापक विदुला घिमिरेले डा ढकालका कविता पुरुषसँग सहयात्री बन्ने र मातृत्वको सार्थकताको खोजी गर्ने खालका रहेको तथा तिनमा आमा, छोरी र पत्नीका रुपमा नारीले सधैँ बलात्कृत भएको अनुभव गरिरहेको भाव पाउन सकिने बताउनुभयो । नेपालका कवितामा प्रकृति, काव्य र मानवको त्रिकोणबाट आशावादिता झल्किएको घिमिरेको टिप्पणी थियो । 

कार्यक्रममा मञ्चका अध्यक्ष राम विनय, उपाध्यक्ष रमेश पोखरेल र सदस्य यशोदा अधिकारीले अविरल जनसाहित्य यात्रा विभिन्न प्रकारले चलाइएको र आगामी दिनमा भिन्दै शैली अपनाइने जानकारी दिनुभयो । सो अवसरमा यात्राको २९ औँ शृङ्खलामा सहभागी पीताम्बर भण्डारी(सिन्धुपाल्चोक)को बिहीबार ब्रेन ट्युमरबाट निधन भएकामा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । 

‘आजको दिन मात्र 

तिमीलाई सम्झन्छु 

सम्झनुको आनन्दको 

अनुभूति चाहन्छु’(सुष्मिता नेपाल) 


यस बिषयमा तपाइको प्रतिक्रिया...!