राष्ट्रिय कविता महोत्सव: ३१ जना कविलाई पछी पार्दै धादिङका हेम प्रभास प्रथम

Posted on: 25 Jun, 2019

असार १०, काठमाडौँ (रासस) | नेपाल प्रज्ञा–प्रतिष्ठानको  ६२ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित राष्ट्रिय कविता महोत्सव २०७६ मा धादिङका हेम प्रभास प्रथम हुनुभएको छ । उहाँले ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो ।  यस्तै डोटीका सुभाषचन्द्र भण्डारी  ‘किनाराका अलिखित संवेगहरु’ शीर्षक कवितामा द्वितीय हुनुभएको छ । यसैगरी लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीले ‘इन्द्रधनुष’ र काठमाडौँकै शान्ति शर्माले ‘उज्यालोको गीत’ कवितामा तृतीय स्थान हासिल गरे । 

प्रतियोगितामा प्राप्त ३४० कवितामध्ये उत्कृष्ट ३१ कविता वाचनका लागि राखिएका थिए । सो अवसरमा प्रकाश सिलवाल, अश्विन समीप, उषा आचार्य, कल्पना काफ्ले, कविता राई, कुबेर खड्का, गरिमा शाह, छविलाल आचार्य, तीर्थराज जोशी, तीर्थराज भट्ट, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, दीपक यात्री, को देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, भुवन  शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, रमेश पौडेल, रेजिना  आपागार्इँ लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा बैतडीका हीरा भट्टलगायतले प्रतियोगी कविता वाचन गर्नुभएको थियो । 


त्यस्तै वासुदेव त्रिपाठी, अशेष मल्ल, शभ्भुकुमार मिलन, बाबा बस्नेत, मित्रलाल पङ्गेनी, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामालगायतले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो ।  


वार्षिकोत्सव तथा कविता महोत्सवको उपप्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । कविता महोत्सवमा प्रतिष्ठानका काव्य विभाग प्रमुख  हेमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन गरिएको थियो । समितिका सदस्यमा  गीता त्रिपाठी र प्रल्हाद पोखरेल रहनुभएको थियो ।   

उपप्रमबाट कविता वाचन 

जीवन सप्तरङ्गी इन्द्रेणी जस्तो हो 

जीवन कहिले पूर्णिमाको जून जस्तै  

कहिलेकाहीँ त औँसीको कालरात्रिजस्तो

कहिले कहिले खुशीले मुस्कुराइरहेको सुन्दर फूलजस्तो

कहिले पीडाले थिलोथिलो परेको ज्यान जस्तो

जीवन कहिले अट्टहास गरेर हाँस्छ 

कहिले कहिले अत्तालिएर रुन्छ जीवन 

× × ×

मृत्यु डरलाग्दो अनभिज्ञता

कहिले कसलाई कहिले कसलाई छाप ठोकेर जान्छ 

अपरिहार्य, अखण्डित, अनभिज्ञताको विषालु गुम्बज 

थाहा हुन्छ तर थाहै पाइँदैन 

(ईश्वर पोखरेल)

उपप्रधानमन्त्री पोखरेलले ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका  कविता वाचन गरिरहँदा दर्शकदीर्घाबाट बीचबीचमा तालीको गडगडाहट आएको थियो । मानिसले जीवन र मृत्युलाई राम्रोसँग बुझ्नुपर्नेमा उहाँले जोड दिनुभयो । “बाँचुञ्जेल सत्कर्म गरेमा मृत्युपछि पनि सबैले स्मरण गर्छन्”, उहाँले भन्नुभयो, “जीवनलाई खेर फाल्नेको  न बाँचुञ्जेल अर्थ रहन्छ न त मृत्युपछि पनि ।” उहाँले मुलुकमा विकास र समृद्धिबारे बहस चलाउनुपर्नेमा पनि जोड दिनुभयो । 

सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले  काव्यबाटै साहित्यको सिर्जना भएको हो भन्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिएको बताउनुभयो । उहाँले कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गर्ने परिपाटीको थालनी गर्नु राम्रो पक्ष भएको बताउनुभयो । 


प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सातओटै प्रदेशका भूगोल, कला, साहित्य, संस्कृति र बौद्धिक पक्ष समेटेर छुट्टाछुट्टै पाश्र्वचित्र तयार पार्न लागिएको र आगामी अक्टोबरमा चीन दक्षिण एशिया समेटेर  साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ, सदस्य सचिव जगतप्रसाद उपाध्याय, कविता महोत्सव निर्णायक समितिका संयोजक तथा  काव्य विभाग प्रमुख  हेमनाथ पौडेल, प्राज्ञसभा सदस्य  शशि लुमुम्बुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कर्मचारी तथा  वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरियो । प्रतिष्ठानमा दीर्घ सेवा गरेका खरिदार शालिकराम फुयाँल, राम पहरी,  सन्तबहादुर पहाडी, मुखिया रामचन्द्र लामा र  कार्यालय सहयोगी मीनबहादुर थिङ, शाखा अधिकृत अशोककुमार चौरसिया, नासु महेश्वर थापा मगर, खरिदार नगेन्द्रबहादुर थारु, भुलबहादुर श्रेष्ठ, मुखिया श्याम महर्जन, झनबहादुर अधिकारी, सवारी चालक नवराज चौलागाईँ, राम महर्जन, कार्यालय सहयोगी  उर्मिला बोहोरा र   अमृता तिवारीलाई पुरस्कृत एवं सम्मान गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!