महोतरीमा भयानक बस दुर्घटना: ५० भन्दा बढी घाइते, ७ को अवस्था गम्भीर

Posted on: 15 May, 2018

जेठ १ गौशाला | महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । 

ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ । 

त्यस्तै अन्य सात जना पनि गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डामा बस दुर्घटना भएको थियो । बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!