पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

Posted on: 04 Jul, 2018

असार २०, गौशाला | बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ । 

दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको हो । 

गत आइतबारदेखि जिल्लामा निरन्तर परेको पानीले जंघा नदीमा ठूलो बाढी आएर पुलमुनिको माटो बगाउँदा गौशाला औरही बाटोमा चार चक्के सवारी र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताउनुभयो । 

तर सो पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्रु आवागमनमा कुनै पनि रोक नलगाइएको र सर्वसाधारण निर्वाधरुपमा आउजाउ गरिरहेको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताउनुभयो । 

दुवै नगरपालिकाका प्रमुखले सो पुलको अवस्थाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको तर बाढीको बेला तत्कालै केही गर्न नसकिने हुँदा बाढी सकिने बित्तिकै पुलका ठेकेदार, नगरपालिका र सम्बन्धित निकायसँगको सहकार्यमा तुरुन्तै सो पुलको मर्मत गरी आवागमन पुनः सुचारु गराउने बताउनुभयो । 

सो पुलबाट आवागमनमा रोक लगाइएदेखि दर्जनौँ भारी सवारीसाधन र मालबाहक साधन गौशाला र औरही दुवैपट्टि बाटो खुल्ने प्रतिक्षामा बसिरहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!