महोत्तरीमा बलात्कारमा परेकी महिलाले दिईन् यस्तो बयान

Posted on: 18 Jul, 2018

साउन २, बर्दिबास । बलात्कार अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको तिलाठी गाउँपालिका ५ बसाईन गाउँका २४ वर्षीय सुरेन्द्र सरदार र २० वर्षीय कपुर सरदारलाई एक महिलामाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका असई प्रकाश महतोले जानकारी दिए ।

गत असार ३० गते राति साढे ११ बजे महोत्तरीको बर्दिबासस्थित कलश पेट्रोलपम्प नजिकैको जंगलमा लगेर उनीहरूले आफूलाई बलात्कार गरेको ४२ वर्षीय पीडित महिलाले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

ती महिला पक्राउ परेका दुई युवासहित अन्यकी भान्से थिइन् । आर्थिक अवस्था कमजोर भएकी उनले बर्दिबास चोकमा सडक कालोपत्रे गर्ने कामदारहरूलाई खाना बनाएर दुई सन्तानसहित आफ्नो पेट पाल्दै आएकी थिइन् । बलात्कार अभियोगमा पक्राउ परेका दुई युवा पनि सडक पिच गर्ने काम गर्थे ।

‘कपुरले हात समाते र सुरेन्द्रले करणी गरे,’ उजुरीमा उल्लेख छ,‘ गुहार माग्दा मुख थुनिदिए । कसैलाई भनेमा ज्यान मारिदिने भने’, उनले प्रहरीसँग भनेकी छन् ।

पक्राउ परेका दुबैजनाविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको छ । जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!