महोत्तरीमा ट्राफिक प्रहरीद्वारा नौ लाख राजस्व सङ्कलन

Posted on: 25 Oct, 2016

कात्तिक ९, महोत्तरी । जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत असोज महिनामा रु नौ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । 

सवारी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ठूला तथा साना एक हजार ५५१ सवारी साधनका चालकलाई कारबाही गरी सो रकम असुल गरेको हो । एक सय चारवटा बसका चालक, २६९ वटा ट्रकका चालक तथा २५५ वटा जिप, कार र टेम्पोका चालक कारबाहीमा परेका थिए । 

त्यसैगरी ५७ वटा ट्र्याक्टरका चालक, मादक पदार्थ सेवन गरी सवारी चलाउने १२, छतमा आवश्यकताभन्दा बढी लगेज बोक्ने दुई, क्षमताभन्दा बढी सामान बोक्ने १४३, बेल्ट र हेल्मेट नलगाउने ६७, छतमा यात्रु बोक्ने दुई, कागजपत्र नबोकेका ६८९, लाइसेन्स नभएका २७५, बत्ती बिग्रेका २८, प्रयोजन विपरीत हिँडेका ३६ तथा सिट क्षमताभन्दा वढी यात्रु बोक्ने ४५ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ । 

असोज महिनामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!