‘लकडाउन’ अवधिमा चोरी कटानका काठ धमाधम बरामद हुँदै

Posted on: 04 May, 2020

वैशाख २२, महोत्तरी | कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् । 

पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका १०० घनफिट सालका ४० वटा गोलिया गौशाला नगरपालिका–१२ बाट बरामद गरेको हो । योसहित लकडाउन अवधिमा सुरक्षा गस्तीले बरामद गरेको चोरी कटानका काठको परिमाण ३०० घनफिट पुगेको छ । 

पछिल्लो पटक आइतबार बाँके सवडिभिजन वन कार्यालय  लक्ष्मीनियाँ, सागरनाथ वन विकास परियोजनाको स्टिल टावर रेन्ज युनिट, बाँके साझेदारी वन उपभोक्ता समितिका प्रतिनिधि, कान्तिबजार प्रहरी चौकी र सशस्त्र प्रहरी सुरक्षा वेस जमुनियाँको संयुक्त गस्तीले लुकाएर राखिएको काठ बरामद गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो । चोरी कटान गरिएका काठ गौशाला–१२ लक्ष्मीनियाँको रानाटोलको उखुबारी, बगैँचा र झाडीमा फेला पारिएको कार्यालयले जनाएको छ ।

लकडाउन अवधिमा यसअघि सुरक्षा गस्तीले बर्दिवास–११ खयरमारा र बर्दिवास–३ पाटुबाट समेत २०० घनफिट सालको काठ बरामद गरेको थियो । यसै अवधिमा वनमा रुख कटान गरिरहेकै बेला एका र चोरी कटान गरिएका काठ अटोरिक्सा र मोटरसाइकलमा ओसार्दै गरेका एकसहित दुईजना पक्राउ गरिएका छन् । 

सुरक्षा गस्तीले यसै अवधिमा जोखिममा परेका तीन नीलगाई, एक/एक हरिण र चित्तल गरी पाँच वन्यजन्तुको उद्धार गर्नुका साथै ३०० हेक्टर क्षेत्रफलमा लागेको डढेलोसमेत नियन्त्रण गरेको डिभिजन प्रमुख साहको भनाइ छ । लकडाउन अवधिमा वन सम्पदाको चोरी निकासी र वन्यजन्तुको चोरी शिकार बढेको गुनासो बाक्लिएसँगै विशेष तालीमप्राप्त तीनवटा टोली वनमा परिचालित गरिएको कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!